कास्की । पोखरामा गत साउनयता मोटरसाइकलको स्वरुप परिवर्तन (मोडिफाइ) गरेर चलाउने ७५० जना चालक कारबाहीमा परेका छन् । आइतबारमात्र स्वरुप परिवर्तन गरिएका १२ वटा मोटरसाइकललाई नियन्त्रणमा लिइएको ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
कार्यालय प्रमुख प्रहरी निरीक्षक भानु शर्माका अनुसार स्वरुप परिवर्तन गरिदिने वर्कसप सञ्चालकलाई समेत कारबाही गर्न सुरु गरिएको छ । ‘पोखराका विभिन्न ठाउँबाट पक्राउ परेका आठ वर्कसप सञ्चालकलाई सम्झाइबुझाई गरी आगामी दिनमा मोटरसाइकलको स्वरुप परिवर्तन नगरिदिने प्रतिबद्धता गराएर छाडिएको छ,’ उनले भने, ‘मोटरसाइकल वर्कसप पनि हाम्रो निगरानीमा छन् ।’
स्वरुप परिवर्तन गरिएका मोटरसाइकलले ध्वनि प्रदूषण र दुर्घटनाको जोखिम बढाएकाले प्रचलित कानुनअनुसार कारबाही गरिएको प्रहरी निरीक्षक शर्माले बताए ।
‘स्वरुप परिवर्तन गरेर चलाउने दुई पाङ्ग्रे सवारीविरुद्ध कारबाहीको अभियान नै चलाइएको छ,’ उनले भने, ‘कतिपयलाई ट्राफिक नियमअनुसार जरिवाना गर्छौं, कोहीलाई थप कारबाहीका लागि यातायात व्यवस्था कार्यालय पठाउने गरिएको छ ।’
पहिलोपटक नियन्त्रणमा लिइएकालाई मोटरसाइकललाई आफ्नै स्वरुपमा फर्काउन लगाइ जरिवाना तिराएर छाड्ने गरिएको छ । पटक–पटक पक्राउ पर्नेलाई भने सवारी तथा यातायात व्यवस्था ऐनअनुसार कारबाहीका लागि यातायात व्यवस्था कार्यालय पठाउने गरिएको प्रहरीले जनाएको छ ।
स्वरुप परिर्वतन गरिएको दुई पाङ्ग्रे सवारीको कारबाहीबाट चालु आवमा सात लाख ५० हजारभन्दा बढी जरिवाना रकम उठेको प्रहरी निरीक्षक शर्माले जानकारी दिए ।
मोटरसाइकलमा अनावश्यक रङरोगन गर्ने, लुकिङ ग्लास, सक, ह्यान्डल, इन्जिनलगायत परिवर्तन गर्ने, चर्को ध्वनि निकाल्ने पाटपुर्जा जडान गर्ने चालकलाई नियन्त्रणमा लिने गरिएको उनले बताए ।
पोखरामा ट्राफिक नियमलाई चुनौती दिँदै स्वरुप परिवर्तन गरेर मोटरसाइकल चलाउने बढेपछि त्यसविरुद्ध प्रहरीले सक्रियता बढाएको हो ।