• Menu

तनहुँ जलविद्युत आयोजनामा १७ सयलाई रोजगारी

नेपाल प्रफिट

२०८० फागुन २७, आइतबार २१:४५

तनहुँ जलविद्युत आयोजनामा १७ सयलाई रोजगारी

तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा जिल्लाका १७ सयभन्दा बढीले रोजगारी पाएका छन् ।

नेपाल विद्युत् प्राधिकरणको प्रवर्धक कम्पनी तनहुँ हाइड्रोपावरमार्फत निर्माण भइरहेको आयोजनाको विभिन्न प्याकेजमा जिल्लाका १ हजार ७७० जनाले रोजगारी पाएका हुन् ।

प्रभावित स्थानीय तह र जिल्लाका बासिन्दालाई रोजगारी दिने उद्देश्यसहित प्याकेज एक, प्याकेज दुई र प्याकेज तीनमै स्थानीयलाई रोजगारीको व्यवस्था मिलाइएको तनहुँ हाइड्रोपावरका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए । ‘तनहुँकै सबैभन्दा ठूलो आयोजनाको काममा स्थानीयलाई नै प्राथमिकता दिएका हौँ,’ उनले भने ।

उनका अनुसार आयोजनाबाट प्रभावित घरधुरी मध्येबाट ३२, प्रभावित वडाबाट एक हजार ५७७ र प्रभावित क्षेत्रबाट १६१ जनालाई रोजगारी दिइएको छ । त्यसमध्ये प्याकेज १ मा १३०, प्याकेज २ मा १९७, प्याकेज ३ मा २० जनाले रोजगारी पाएका छन् ।

त्यस्तै तनहुँ हाइड्रोपावर लिमिटेडमा ४१, पीएससीतर्फ ९ र सीडीपीमा १ हजार ३६६ जनाले रोजगारी पाएका छन् । सबै प्याकेजमा तनहुँबाहिरका १ हजार ४१ र विदेशी १४५ जनाले रोजगारी पाएको आयोजनाले जनाएको छ ।

सबैमा गरी कुल २ हजार ९५६ जनाले रोजगारी पाएका छन् । त्यसमध्ये २ हजार ६६३ पुरुष छन् भने २ सय ९३ महिला छन् ।

प्रतिक्रिया दिनुहोस्