• Menu

लगानी सम्मेलनमा सहभागिताका लागि साउदीका उद्योगी व्यवसायीलाई महासंघ अध्यक्ष ढकालको आह्वान

'जलविद्युत पर्यटन सूचना प्रविधि र कृषिमा लगानीको अवसर छ'

नेपाल प्रफिट

२०८० फागुन २७, १८:१६

लगानी सम्मेलनमा सहभागिताका लागि साउदीका उद्योगी व्यवसायीलाई महासंघ अध्यक्ष ढकालको आह्वान

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले साउदी अरबका लगानीकर्तालाई नेपालमा लगानी बढाउन र लगानी साझेदारीका लागि आह्वान गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ, लगानी बोर्ड नेपाल, साउदी अरबको लगानी मन्त्रालय, साउदी चेम्बर र नेपालस्थित साउदी अरब दूतावासले संयुक्त रूपमा आयोजना गरेको लगानी वेबिनारमा अध्यक्ष ढकालले नेपालमा लगानी बढाउन साउदी लगानीकर्तालाई आग्रह गरेका हुन् ।

लगानी सम्मेलनको सन्दर्भ जोड्दै अध्यक्ष ढकालले नेपालमा लगानीकर्तालाई सहज वातावरण बनाउन सरकारले निजी क्षेत्रसँग मिलेर काम गरिरहेकाले बाह्य लगानीकर्ताका नेपालमा लगानी बढाउन उपयुक्त समय आएको बताए ।

नेपालमा जलविद्युत, पर्यटन, सूचना प्रविधि र व्यावसायिक कृषिमा थप लगानीका  सम्भावना सिर्जना भएको तर्फ अध्यक्ष ढकालले साउदी लगानीकर्ताहरूको ध्यानाकर्षण गराए

सरकारले आगामी १० वर्षमा २५ हजार मेगावाटभन्दा बढी जलविद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ । जलविद्युत उत्पादनको लक्ष्य हासिल गर्न वैदेशिक लगानी आवश्यक पर्ने भएकाले जलविद्युतमा संयुक्त लगानी परियोजना विकास गर्न साझेदारीका लागि समेत अध्यक्ष ढकालले आग्रह गरे ।

पर्यटन क्षेत्रमा प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपालको आफ्नै मौलिक विशेषता भएकाले होटल रिसोर्ट र केबलकार परियोजनाहरूमा आफूले लगानी बढाएको उदाहरण उनले दिए । ढकालले बाह्य लगानीकर्ताका लागि पर्यटन बजार पनि आकर्षक रहेको बताए । सूचना प्रविधि र व्यावसायिक कृषिमा बढ्दो बजार मागले पनि लगानीकर्तालाई थप अवसरहरु सिर्जना गरिरहेको उनले स्पष्ट पारे ।

बाह्य लगानीलाई सहज बनाउन महासंघले लगानी र व्यापार नीतिको मस्यौदामा सरकारसँग नजिक रहेर काम गरिरहेकाले नीतिगत समस्याहरूमा अप्ठ्यारो महसुस नगर्न पनि अध्यक्ष ढकालले साउदीका लगानीकर्तालाई आश्वस्त पारे ।

महासंघले वैदेशिक लगानी हेल्प डेस्कमार्फत लगानीकर्ताहरूलाई सेवाहरू प्रदान गरिरहेको जानकारी गराउँदै अध्यक्ष ढकालले यसले लगानीकर्ताहरुलाई थप सहज बनाएको बताए ।

वैशाखमा हुन गइरहेको नेपाल लगानी सम्मेलनमा लगानीका प्रतिबद्धतासहित सहभागी हुन पनि अध्यक्ष ढकालले साउदीका लगानीकर्तालाई आग्रह गरे ।