• Menu

कार्यालय सहयोगीले नायब सुब्बाको परिचयपत्र झुन्ड्याएर करोडौं ठगी

नेपाल प्रफिट

२०८० फागुन २७, १३:५१

कार्यालय सहयोगीले नायब सुब्बाको परिचयपत्र झुन्ड्याएर करोडौं ठगी

सिरहा । कृषि ज्ञान केन्द्र सिरहामा करार सेवामा कार्यरत कर्मचारी अजयकुमार कर्ण  किसानलाई अनुदानमा ट्र्याक्टर मिलाइदिने आश्वासन दिँदै लाखौँ रकम असुल गरी फरार भएका छन् । अहिले अनुदानको ट्र्याक्टर पनि नपाएपछि र रकम पनि गुमेपछि किसान चिन्तित बनेका छन् ।

किसानले आफूहरूको रकम फिर्ता हुनुपर्ने माग राखेपछि कर्णले ट्र्याक्टर नपाउने सबैको रकम फिर्ता गरिदिने जनाउँदै विभिन्न मितिका नबिल र ग्लोबल आइएमई बैंकको चेक सहीछाप गरी दिएका थिए ।

पीडितले पटक–पटक बैंक जाँदा पनि उक्त खातामा रकम नभएको जानकारीपछि चेक अनादारमा बैंकिङ कसुरसम्बन्धी जिल्ला प्रहरी प्रशासन कार्यालयमा बैंकको अनादार चेक रिपोर्टसहित निवेदन दिएका छन् ।

प्रहरी कार्यालय सिरहाका अनुसार फरार रहेका कर्णको खोजी भइरहेको छ । सिरहा प्रहरी प्रवक्ता रवीन्द्रराज पाण्डेले फरार कर्णको ‘केवाईसी’ अध्ययन भइरहेको र प्राप्त भएका निवेदनको आधारमा बैंकिङ कसुरसम्बन्धी मुद्दा दर्ता गरी कारबाही अगाडि बढाइने बताए ।

आफूहरूलाई प्रलोभनमा पारी रकम असुली गरिएको औरही गाउँपालिका–२ स्थित तुलसीपुरकी पुनिता महतोले बताइन् । ‘ठगी गर्ने कर्ण चिनजानकै व्यक्ति हुन् । कृषि ज्ञान केन्द्रका कर्मचारी पनि भएकाले विश्वास गरी ट्र्याक्टर पाउने आशाले अग्रिम अनुदानको आधा रकम बुझाइयो तर अहिले न ट्र्याक्टर पाइयो न त रकम फिर्ता नै,’ उनले भनिन् ।

उनका अनुसार कर्णले कात्तिक १९ र २० गते नबिल र ग्लोबल आइएमई बैंकको चेक दिएका थिए । तर, उक्त खातामा पर्याप्त रकम नभएको बैंकले बताएको थियो ।

पैसा ठगेर कर्ण भागेपछि सुखीपुर नगरपालिका–५ का राजकिशोर यादव पनि तनावमा छन् । यादवमार्फत सिरहाको औरही, अर्नामा, कल्यानपुर, मिर्चैया, वरियारपट्टी, लक्ष्मीपुर पतारीलगायतका स्थानबाट ११ किसानले ट्र्याक्टर पाउने आश्वासनमा ९६ लाख कर्णलाई बुझाएका थिए ।

उनका अनुसार प्रत्येक पीडित व्यक्तिबाट पाँचदेखि नौ लाखसम्म लिइएको थियो । केही बैंकमार्फत त केही नगदमा उक्त रकमको कारोबार गरिएको यादवले जानकारी दिए ।

किसान मनोज यादवका अनुसार स्थानीयको कम्तीमा पनि १० करोड रुपैयाँबराबर रकम हिनामिना गरी कर्ण फरार भएका छन् । फरार कर्णको सिरहा नगरपालिका–१० स्थायी घर हो ।

अहिले दैनिक सयौं व्यक्ति घर पुग्ने गरेको कर्णका बुवा कृष्णदेवलाल कर्णले जानकारी दिए । छोराको बदमासीका कारण यतिबेला आफू तनावमा परेको उनले बताए । उनले प्रहरीमा शान्ति सुरक्षाको निवेदन दिएका छन् ।

कृषि ज्ञान केन्द्र सिरहाले भने फरार रहेका कर्ण कार्यालय सहयोगीमात्र भएको जानकारी दिएको छ । पीडितका अनुसार कर्णले नायब सुब्बाको परिचयपत्र झुण्ड्याएको बताए पनि ज्ञान केन्द्रका प्रमुख नरेन्द्रकुमार महासेठले भने कर्ण कार्यालय सहयोगीमात्र भएको बताए ।

दुई महिनादेखि कर्णले तलब पनि नलिएको उनले जानकारी दिए । कर्णले सर्वसाधारणको रकम हिनामिना गरेको सम्बन्धमा आफू जानकार नभएको प्रमुख महासेठले बताए ।