काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पद तथा गोपनीयकताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीको शपथ गराएका हुन् ।
यादव १८ जेठ २०७५ देखि २०७६ मंसिर ४ सम्म पनि यही पदमा थिए । करिब डेढ वर्ष मन्त्रालय चलाउँदा देखिने गरी कुनै काम गर्न नसकेका आरोप उनलाई लागेको थियो ।
यादवले शपथ लिएसँगै नवगठित मन्त्रिपरिषदमा उपप्रधानमन्त्रीको संख्या चार पुगेको छ । यसअघि नेकपा एमालेका रघुवीर महासेठ, नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले उपप्रधानमन्त्रीको शपथ लिइसकेका छन् ।
महासेठले भौतिक पूर्वाधार तथा यातायात, श्रेष्ठले परराष्ट्र र लामिछानेले गृह मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् ।
जसपाबाट यादव र नवलकिशोर साह सरकारमा गएका छन् । साहले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् । उनले पनि आइतबार नै शपथ लिएका छन् ।
जसपा अध्यक्ष यादव गत वैशाख १० गते सम्पन्न प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए । प्रतिनिधिसभा निर्वाचन २०७९ मा सप्तरी १ बाट निर्वाचित नवलकिशोर साह यसअघि मधेस प्रदेश सरकारमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भएका थिए ।