• Menu

पाथिभरा केवलकार निर्माण तत्काल अघि बढाउन जिल्लाका सबै राजनीतिक दलको आग्रह

नेपाल प्रफिट

२०८० फागुन २६, शनिबार १९:१६

पाथिभरा केवलकार निर्माण तत्काल अघि बढाउन जिल्लाका सबै राजनीतिक दलको आग्रह

ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा (मुकुलुङ) मा केवलकार निर्माणको काम तत्काल अघि बढाउन जिल्लाका सबै राजनीतिक दलले आग्रह गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङको आह्वानमा बसेको संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरुको बैठकले आ-आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्नुका साथै केवलकार निर्माणको कामलाई सहजीकरण गर्दै अघि बढ्ने निर्णय गरेका हुन् ।

केवलकार कम्पनीले केवलकारको निर्माण कार्य तत्काल सुरु गर्ने र त्यसका लागि शान्ति सुरक्षाको व्यवस्था मिलाउन आग्रह गरेपछि प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले यो निर्णय गरेको हो ।

बैठकमा उपस्थित राजनीतिक दलहरु आ-आफ्नो आधिकारिक धारणामार्फत केवलकार निर्माणमा सहजीकरण गर्न सहमत भएका छन् ।

बैठकमा उपस्थित विभिन्न दलका प्रतिनिधिहरुले केवलकार जिल्लाको सर्वांगिण विकास, रोजगारी र पहिचानसँग जोडिएकाले यसको निर्माणको काम तत्काल अघि बढाउन आवश्यक वातावरण निर्माण गर्ने प्रतिबद्धता पनि जनाए ।

आइएमई समूहको अगुवाइमा ताप्लेजुङको फुङ्लिङ ११, काफ्लेपाटीबाट पाथिभरा मन्दिरसम्म पुग्ने केवलकार निर्माण गर्ने योजना छ । ताप्लेजुङमा रहेको पाथिभरा क्षेत्र देशकै महत्वपूर्ण धार्मिक, पर्यटकीय र ऐतिहासिक महत्वको क्षेत्र मानिन्छ ।