इलाम । हरियाली चियाबारीको बीचमा लुकेको इलाम बजार बिहीबार र शुक्रबार च्याब्रुङको आवाजले गुञ्जायमान बनेको छ । किराँत याक्थुङ चुम्लुङ इलामले आयोजना गरेको प्रथम आदिवासी याक्थुङ/लिम्बू सांस्कृतिक महोत्सवमा प्रस्तुत गरिएको च्याब्रुङ नाच (केःलाङ) ले इलाम बजार गुञ्जायमान बनेको हो ।
झन्डै पाँच सय हाराहारीमा च्याब्रुङ र करिब एक हजारका बाधक (च्याब्रुङे) सहित कलाकारले च्याब्रुङ नाच प्रस्तुत गरे । च्याब्रुङ नाच हेर्न हजारौँ सहभागी भए ।
ठूलो टुँडीखेलको धूलो मैदानबाट च्याब्रुङ बजाउँदै निस्केको समूह भानुपथ–नविनचोक हुँदै प्रकाशपथ र मालापथ परिक्रमा गरेको थियो । महोत्सवमा इलामका १० वटा पालिकासहित याक्थुङ/लिम्बू जातिको बाहुल्य रहेको पूर्वका नौ, उपत्यकाका तीन तथा चितवन गरी १३ जिल्लाबाट आएका र चारवटा विदेशस्थित चुम्लुङ शाखाबाट आएकाहरुको सहभागिता रह्यो ।
महोत्सवमा सांस्कृतिक झाँकीसहित च्याब्रुङ नाच, धाननाच (याःलाङ), पालाम, हाक्पारे, ख्यालीलगायत सांस्कृतिक कला प्रस्तुत गरिएको किराँत याक्थुङ चुम्लुङ इलामकी अध्यक्ष बुद्धमाया सोङ्मीले जानकारी दिइन् ।
त्यस्तै, लिम्बू समुदायको पोसाक तागा (पुरुषले लगाउने सांस्कृतिक पोसाक) र मेख्ली (महिलाले लागाउने सांस्कृतिक पोसाक) र लिम्बू सांस्कृतिक खानपान (परिकार) समेत प्रदर्शन गरिएको थियो । महोत्सवमा तोङ्बा, फिलिङ्गेको अचार, किनामाको अचार र याङबेनलगायतका परिकार अतिथिलाई खुवाइएको थियो ।
सो अवसरमा लिम्बू समुदायको भाषा, कला, संस्कृति र परम्पराको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरणसम्बन्धी विभिन्न कार्यपत्रमाथि छलफल गरिएको थियो । छलफलमा ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) संरक्षण आन्दोलनको अवस्था र भावी योजना, लिम्बुवान आन्दोलन, मुन्धुम निसाम हिम अवधारणा, याक्थुङ/लिम्बू भाषा विकासको योजनालगायतका विषयमा छलफल भएको थियो ।
चुम्लुङ इलामकी अध्यक्ष सोङ्मीले महोत्सवबाट लिम्बू समुदायको कला, संस्कृति र परम्पराको संरक्षण, सम्वर्द्धन, विकास र पुस्तान्तरणमा महत्वपूर्ण योगदान पुर्याएको विश्वास व्यक्त गरिन् । ‘आदिवासी याक्थुङ/लिम्बू समुदायको कला, संस्कृति र परम्पराको संरक्षण, प्रवर्द्धन एव नयाँ पुस्तामा पुस्तान्तरणमा महोत्सवले सहयोग पुर्याएको छ,’ उनले भनिन्यो, ‘नयाँ र पुराना पुस्ता मिलेर नै पुर्ख्यौली कला, संस्कृति र परम्पराको संरक्षण गर्नुपर्छ, यो महोत्सवले त्यही सन्देश दिएको छ ।’
परम्परागत लोकबाजा च्याब्रुङ
च्याब्रुङ पूर्वी पहाडमा बस्ने लिम्बू समुदायको परम्परागत लोकबाजा हो । मादलजस्तै काठको ढुङ्ग्रोमा दुवैतिर पातलो छाला मोडेर बनाइने च्याब्रुङमा खरीको प्रयोग हुँदैन । यसमा प्रायः गोरु, गाई र बाख्राको छाला प्रयोग हुन्छ । लिम्बू समुदायमा विवाह, भोजभतेर तथा शुभ कार्यमा च्याब्रुङ बजाएर नाच्ने गरिन्छ । झ्याम्टाको साथमा पनि च्याब्रुङ नाच नाचिने प्रचलन छ ।
च्याब्रुङ नाचको आफ्नै ऐतिहासिकता, नीति र प्रयोगको नियम रहेको जानकारहरु बताउँछन् । च्याब्रङ नाच विभिन्न जनावर र पशुपन्छीको अभिनय गर्दै समेत नाच्ने गरिन्छ । च्याब्रङ नाचमा परिवेश अनुसार च्याब्रुङको ताल पनि फरक हुन्छ ।
याक्थुङ/लिम्बू जातिले शताब्दीऔँ अघिदेखि नाच्दै आएको च्याब्रुङ नाचलाई व्यवस्थित गर्न किराँत याक्थुङ चुम्लुङसहित लिम्बू भाषा, संस्कृतिको क्षेत्रमा सक्रिय संघसंस्थाले प्रयास गर्दै आएका छन् । हिजोआज लिम्बूले मात्र नभई राई, सुनुवार, याख्खा, जिरेल, सुरेल, हायु, धिमाल आदिले पनि उधौली तथा उभौली पर्वमा यो बाजा बजाएर विशेष नाच नाच्ने गर्छन् ।