• Menu

भरतपुर महानगर प्रमुख रेनु दाहाललाई ‘इन्टरनेसनल मेयर अवार्ड’

नेपाल प्रफिट

२०८० फागुन २५, शुक्रबार १०:०६

भरतपुर महानगर प्रमुख रेनु दाहाललाई ‘इन्टरनेसनल मेयर अवार्ड’

चितवन । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल ‘इन्टरनेसनल मेयर अवार्ड’बाट द्वारा सम्मानित भएकी छन् । बेलायतको संसद् भवन ‘हाउस अफ कमन्स’मा गएराति उनलाई लन्डनका मेयर सादिक खानले उक्त अवार्ड प्रदान गरे ।

पोलिटिकल एन्ड पब्लिक लाइफ अवार्डअन्तर्गत सन् २०२४ को मेयर अवार्ड प्रमुख दाहाललाई प्रदान गरिएको हो । मरिससकी पहिलो महिला राष्ट्रपति अमिना गुरिब फकिमलगायतका उच्च व्यक्तित्व सहभागी विशेष समारोहका बीच अवार्ड वितरण गरिएको छ ।

कार्यक्रममा मेयर खानलाई लोकल गभर्मेन्ट अवार्ड, राष्ट्रपति फकिमलाई इन्टरनेसनल वेमन अफ द इयर अवार्ड प्रदान गरिएको थियो । पोलिटिकल एन्ड पब्लिक लाइफ अवार्डअन्तर्गत सन् २०२४ मा उक्त अवार्ड बेलायतलगायत विभिन्न देशका फरक–फरक क्षेत्रमा ख्यातिप्राप्त २४ जनालाई प्रदान गरिएको हो ।

यस वर्ष उक्त अवार्ड पाउनेमा बेलायतका उपप्रधानमन्त्री ओलिभर डाउडेन, प्रमुख विपक्षी दल लेबर पार्टीकी उपनेता एन्जेला रेनर, सीप तथा शिक्षासम्बन्धी राज्यमन्त्री रोबर्ट हालफन, लेवर पार्टीका अन्तर्राष्ट्रिय व्यापार छायाँमन्त्री ग्यारेथ थोमस, भारतका पूर्वमन्त्री सुरेश प्रभु, मौरिससकी पूर्वराष्ट्रपति फकिम, बेलायत वेल्स राज्यकी सांसद नताशा अस्गर पनि थिए ।

अवार्ड प्राप्त गरेपछि प्रमुख दाहालले उच्च राजनीतिक नेतृत्वबीच सम्मानित हुन पाउँदा गौरवान्वित भएको बताइन् । नेपालमा स्थानीय तहमा भौतिक निर्माणसहित अन्य सूचकमा भरतपुर महानगरपालिका अग्रणी रहेको छ ।

प्रमुख दाहालले त्यसअघि बेलायती उपसभामुख एवं सांसदसँग भेटवार्ता गरेकी थिइन् । प्रमुख दाहालले बेलायती संसद् हाउस अफ कमन्सका उपसभामुख नाइजेल इभान्स् तथा सत्तारुढ कन्जरभेटिभ सांसद एवं पूर्वमन्त्री डिन रसेल र प्रमुख प्रतिपक्षी दल लेबरका सांसद वीरेन्द्र शर्मासँग संसद्मा भेटघाट गरेकी हुन् ।

त्यस्तै, लन्डनस्थित नेपाली दूतावासले गरेको सम्मान कार्यक्रममा सहभागी भएकी दाहालले देश–विदेशबाट भरतपुर महागरपालिकाको काम सूक्ष्म ढंगले अध्ययन भइरहेको बताइन् ।

प्रमुख दाहालले लन्डनस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई पनि भरतपुर भ्रमणका लागि निमन्त्रणा दिएकी छन् । राजदूत आचार्यले भरतपुर भ्रमण वर्षले समग्र नेपाल भ्रमण वर्षलाई पनि फाइदा पुग्ने बताइन् ।

उनले बेलायतका उच्च अधिकारीहरुलाई पनि भरतपुर भ्रमण वर्ष २०२४ को निम्तो दिएकी छन् ।