• Menu

जर्मनीमा आयोजित आईटीबी बर्लिन २०२४ मा नेपालको पर्यटन प्रवर्धन

नेपाल प्रफिट

२०८० फागुन २४, २१:१२

जर्मनीमा आयोजित आईटीबी बर्लिन २०२४ मा नेपालको पर्यटन प्रवर्धन

जर्मनी । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले नेपालको पर्यटन व्यवसायमा आबद्ध निजी क्षेत्रका ४० पर्यटन र हस्पिटालिटी व्यावसायिक कम्पनीसँगको सहकार्यमा जर्मनीको मेसे बर्लिनमा आयोजित आईटीबी बर्लिन २०२४ मा सक्रिय सहभागिता जनाउँदै नेपालको प्रवर्धन र प्रचारप्रसार गरेको छ ।

पर्यटन उद्योगसम्बन्धी आयोजना हुने प्रवर्धनात्मक कार्यक्रममा आईटीबी बर्लिन विश्वकै सबैभन्दा ठूलो एवं अग्रिणी ट्राभल ट्रेड सोका रुपमा स्थापित कार्यक्रम हो । कार्यक्रम मार्च ५ देखि ७ तारिकसम्म चलेको थियो ।

यो वर्ष सम्पन्न आईटीबी बर्लिनमा १७० देशबाट ५ हजार ५०० भन्दा बढी विक्रेता तथा प्रदर्शक कम्पनीसहित विश्वभरका पर्यटनकर्मी, पर्यटन उद्योगका क्रेता र व्यापार आगन्तुकलाई आमन्त्रण गरेको थियो ।

आईटीबी बर्लिन २०२४ को आधिकारिक प्रायोजक देश ओमानले औपचारिक उद्घाटन कार्यक्रममा भव्य प्रस्तुतिसहित ओमानलाई एक आकर्षक गन्तव्यको रुपमा प्रवर्धन गरी उपस्थित सम्पूर्ण विश्वव्यापी पर्यटन सरोकारवालाहरुलाई ओमान भ्रमणका लागि आह्वान गरेको थियो ।

आईटीबी बर्लिनको उद्घाटनका दिन जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले नेपाल प्याभिलियनको उद्घाटन गरेका थिए । उद्घाटन सत्रमा उनले सबै नेपाली प्रतिनिधिलाई स्वागत गर्दै देशको पर्यटन प्रवर्धनका लागि विश्वको सबैभन्दा ठूलो प्लाटफर्ममा नेपालको महत्वपूर्ण र प्रभावशाली उपस्थिति सुनिश्चित गरेकोमा पाटा नेपाल च्याप्टर र नेपालको पर्यटन क्षेत्रका सम्पूर्ण निजी क्षेत्रलाई बधाई ज्ञापन गरे ।

मेसे बर्लिनमा अवस्थित प्रदर्शनी मैदानमा रहेको नेपालको नियमित स्थान, हल ५.२ स्ट्यान्ड १२७ मा केन्द्रमा स्तुपासहित पर्यटकीय आकर्षणहरुले सुसज्जित नेपाल प्याभिलियनअन्तर्गत साहसिक टुर अपरेटरहरू, एयरलाइन्स, होटल व्यवसायीहरू, टुर अपरेटरहरू, पर्वतारोहण, पदयात्रा र एक्सपिडिसन अपरेटरहरू राखिएको थियो । त्यस्तै वेलनेस तथा स्वास्थ्य पर्यटन उद्यमीहरूले नेपालमा ट्रान्सफोर्मटिभ, इमर्सिभ र अविस्मरणीय जीवन्त अनुभव प्रदान गर्ने विभिन्न पर्यटकीय उपज र सेवाको प्रवर्धन गरे ।

आईटीबीमा पाटा नेपाल च्याप्टरले हिमालयन ट्राभल मार्टले आगामी जुन ४ देखि ७ सम्म काठमाडौंमा आयोजना गरिने नेपालकै अग्रणी तथा प्रिमियर अन्तर्राष्ट्रिय ट्राभल ट्रेड सोको ५औं संस्करण हिमालयन ट्राभल मार्ट २०२४ को पनि प्रवर्धन गरेको छ ।

पाटा नेपाल च्याप्टरका अध्यक्ष विभूतिचन्द ठाकुरले आईटीबी बर्लिन २०२४ मा नेपालको प्रतिनिधित्व सुनिश्चित गर्न सहभागी सबै नेपाली पर्यटन व्यवसायीलाई सक्रिय सहभागिता र उनीहरुको महत्त्वपूर्ण भूमिकाका लागि हार्दिक कृतज्ञता व्यक्त गरे ।

उनले विश्वको प्रमुख ट्राभल हबमध्येको एक आईटीबी बर्लिनमा नेपालको छवि उच्च राख्दै देशको पर्यटनको बजारीकरण र प्रवर्धनका लागि पाटा नेपालले भूमिका निर्वाह गर्न पाउँदा खुसी व्यक्त गर्दै नेपालमा दिगो पर्यटन विकास, विस्तार र प्रवर्धनमा नेपाल सदैव प्रतिबद्ध एवं सक्रिय रहेको बताए ।

आईटीबी बर्लिनमा निरन्तर सहभागिता जनाउने वरिष्ठ पर्यटन व्यवसायी तथा कोरा टुर्सका सीईओ विजय अमात्यले नेपालको प्रभावशाली प्रस्तुति, सहभागीहरूको उच्च संख्या र स्ट्यान्डको आकर्षक सजावट देखेर खुसी लागेको बताए । उनले पाटा नेपालको अन्तर्राष्ट्रिय प्रवर्धनका लागि सक्रिय प्रयासको प्रशंसा गर्दै भविष्यमा नेपालमा ट्राभल व्यवसायको वृद्धि हुने आशा गरे ।

बुद्ध एयरका सेल्स एन्ड मार्केटिङ निर्देशक रुपेश जोशीले यस वर्ष सीमित सरकारी सहयोगका बाबजुद पनि आईटीबी बर्लिन २०२४ मा प्रभावशाली उपस्थितिमा योगदान गरेकोमा पाटा नेपाल र निजी क्षेत्रका सहभागीलाई कृतज्ञता व्यक्त गरे ।