• Menu

अर्थमन्त्री र महासंघ कार्यसमिति भेटवार्ता

सुधारका लागि निजी क्षेत्रको मनोबल बढाउन आवश्यक- अध्यक्ष ढकाल, अर्थमन्त्री भन्छन्- हतोत्साही हुन दिन्न

नेपाल प्रफिट

२०८० फागुन २४, १९:२४

सुधारका लागि निजी क्षेत्रको मनोबल बढाउन आवश्यक- अध्यक्ष ढकाल, अर्थमन्त्री भन्छन्- हतोत्साही हुन दिन्न

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विद्यमान आर्थिक समस्या समाधानका लागि पहिलो सर्त निजी क्षेत्र र सर्वसाधारणको मनोबल बढाउनु रहेको बताएका छन् ।

नवनियुक्त अर्थमन्त्री वर्षमान पुनसँगको भेटवार्तामा बिहीबार अध्यक्ष ढकालले हालको विद्यमान अर्थतन्त्रको विषयमा ध्यानाकर्षण गराउँदै साना सहर र गाउँसम्म रकम प्रवाह गर्न सरकारले पुँजीगत खर्च बढाउनुका साथै पुनर्कर्जा सुविधा विस्तार गर्नुपर्ने बताए ।

‘सहकारी र लघुवित्तमा देखिएको समस्याले साना व्यवसायी र सर्वसाधारणको हातमा रकम पुग्न सकेको छैन,’ उनले भने, ‘त्यसका लागि सरकार र बैंकमा रहेको रकम सर्वसाधारणको हातमा पुग्ने व्यवस्था गर्नुपर्छ ।’

उनले निर्माण व्यवसायीलाई बक्यौता रकम तिर्न पहल गर्न पनि मन्त्री पुनसमक्ष आग्रह गरे । ढकालले अर्थमन्त्रीलाई कोभिड समयमा लिएको व्यवसाय निरन्तरता कर्जाको सबै भुक्तानी भइसकेको जनाउँदै नेपाली व्यवसायी जिम्मेवार रहेको र सरकारले विश्वास गर्नुपर्ने बताए ।

अध्यक्ष ढकालले मन्त्री पुनलाई निजी क्षेत्रलाई निर्वाध काम गर्न दिइनुपर्ने पनि बताए । ‘निजी क्षेत्र भन्नाले ठूलो उद्योगदेखि गाउँको किराना पसलसम्म हो,’ उनले भने, ‘सरकारले अत्याउने, धरपकड गर्ने, निरुत्साहित बनाउने काम हुनु हुँदैन र निजी क्षेत्रको मनोबल बढाउनुपर्छ ।’

यसैगरी राजस्व कम उठिरहेको समयमा धरपकड गरी राजस्व उठाउने गरिएको बारे पनि अध्यक्ष ढकालले अर्थमन्त्री पुनलाई जानकारी गराए । चार वर्षअघि राजस्वले टुंग्याएको विषयलाई महालेखा परीक्षकको कार्यालयले खोतल्ने र दण्ड दिने गरेको कुरामा पनि उनले अर्थमन्त्रीको ध्यानाकर्षण गराए ।

निजी क्षेत्रले उठाइरहेको मर्यादाक्रमको विषय पनि अध्यक्ष ढकालले अर्थमन्त्री पुनलाई स्मरण गराए । अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८७ प्रतिशत योगदान दिइरहेको निजी क्षेत्रलाई मर्यादाक्रममा राख्दा निजी क्षेत्रको मनोबल अझै बढ्ने उनको भनाइ छ ।

‘सरकारले खर्च नगरी विश्वास बढ्ने यस्ता विषयमा कन्जुस्याइँ गर्नु हुँदैन,’ उनले भने, ‘यी साना विषय जस्ता देखिए पनि यसले देशभरका सबै उद्यमी व्यवसायीको हौसला बढाउँछ ।’

अध्यक्ष ढकालले जुनसुकै पार्टी भए पनि आर्थिक एजेन्डामा एकरुपता हुनुपर्ने माग गर्दै आइरहेको कुरा पनि अर्थमन्त्रीलाई अवगत गराए । उनले अर्थतन्त्र जटिल विषय भएकाले आर्थिक समस्या समाधानका लागि सबै पार्टी र पक्षको प्रतिबद्धता आवश्यक रहेको बताए ।

अध्यक्ष ढकालले बैंक वित्तीय संस्थामा पनि समस्या देखिएमा अर्थतन्त्रमा थप जटिलता बढ्नेतर्फ सजग गराउँदै यसको संवेदनशीलता बुझ्न मन्त्री पुनलाई आग्रह गरे । ‘बैंक वित्तीय संस्थाको ऋण तिर्नु नपर्ने भनी गलत प्रचारप्रसार भइरहेको छ,’ उनले भने, ‘यसमा सरकार सचेत हुनुपर्छ ।’

जवाफमा अर्थमन्त्री पुनले निजी क्षेत्रलाई विश्वासमा लिएर अगाडि बढ्ने प्रतिबद्धता जनाए । उनले निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अगाडि बढ्ने स्पष्ट पारे ।

मन्त्री पुनले कुनै समुदायप्रति अपराधीजस्तो व्यवहार नगरिने पनि बताए । निजी क्षेत्रमाथि धरपकड भइरहेको अध्यक्ष ढकालको गुनासोमा मन्त्री पुनले पहिले अनुसन्धान पूरा नगरी थुन्ने वातावरण अन्त्य गर्न सम्बन्धित निकायहरुसँग पनि समन्वय गरिने आश्वासन दिए ।

‘गल्ती गर्नेले सजाय पाउँछ तर कोही व्यक्तिले गल्ती गर्दैमा पुरै समुदायलाई नराम्रो भन्न हुँदैन,’ उनले भने, ‘राज्य भनेको नागरिकको सुरक्षा र सेवा दिने निकाय हो, ‘यो मेरो जिम्मेवारी हो, म यहाँहरुलाई हतोत्साही हुन दिन्न ।’