• Menu

शिक्षामन्त्री सुमना भन्छिन्- हामीले हाम्रै देश बनाउनका लागि काम गर्ने हो, बाटो सजिलो छैन

नेपाल प्रफिट

२०८० फागुन २४, १५:२०

शिक्षामन्त्री सुमना भन्छिन्- हामीले हाम्रै देश बनाउनका लागि काम गर्ने हो, बाटो सजिलो छैन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले देश बनाउन हिँड्ने बाटो सजिलो नभएको बताएकी छन् । सामाजिक सञ्जाल एक्स (ट्विटर)मार्फत उनले भनेकी छन्, ‘हामीले हाम्रै देश बनाउनका लागि काम गर्ने हो । सजिलो बाटो त पक्कै छैन तर सबै जनाको साथ, सहयोग र सहकार्यमा पक्कै पनि हामी त्यहाँ पुग्नेछौँ ।’

उनको ट्विट जस्ताको तस्तै-

यो अन्तिम उपलब्धि होइन, सुरुवात हो । विगत चौध महिनामा यहाँहरूले दिनुभएको साथ, सहयोग र विश्वास निम्ति अनुग्रहित छौँ । तपाईंहरूकै कारण आज प्रश्न गर्ने ठाउँबाट काम गर्ने ठाउँमा आइपुगेका छौँ ।

हामीले प्रश्न गरिरहँदा हाम्रो मूल मन्त्र थियो- प्रश्न सही भए उत्तर त्यहीँभित्र लुकेको हुन्छ । त्यसै कारण हामीले सही प्रश्न पहिल्याउन नै अथक मेहनत, लगनशील अध्ययन र इमानदार प्रयास गरिरह्यौँ । समस्या पहिल्याउने प्रतिबद्ध प्रयास गर्दागर्दै समाधान पनि त्यहीँ कतै भेटिन्थ्यो ।

आगामी दिनमा पनि हाम्रो कार्यशैली यस्तै रहनेछ । सतही विश्लेषण र लोकप्रिय समाधानमा केन्द्रित नरहेर हामी समस्याको जरासम्म पुग्ने प्रयास गर्नेछौँ र प्रश्नको उत्तर खोज्नेछौँ, समाधान पहिल्याउनेछौँ ।

सांसदका रूपमा काम गरिरहँदा जसरी हामी सरोकारवाला र आम नागरिकको अर्थपूर्ण सहभागिता, पारदर्शिता र अपनत्वलाई केन्द्रमा राख्थ्यौँ, त्यही कार्यशैली अब पनि अपनाउने नै छौँ । हामीले हाम्रै देश बनाउनका लागि काम गर्ने हो । सजिलो बाटो त पक्कै छैन, तर सबै जनाको साथ, सहयोग र सहकार्यमा पक्कै पनि हामी त्यहाँ पुग्नेछौँ ।

हामीले बोकेको लक्ष्यमा काम गर्दै गर्दा वर्तमान समयमा नेपालमा शिक्षाको आधारभूत अवस्था कस्तो छ भनेर बुझ्न आवश्यक छ । मुलुकको आर्थिक अवस्थाका कारण हामीसँग पर्याप्त स्रोत नभएकाले उपलब्ध स्रोत शिक्षाको क्षेत्रमा कहाँ-कहाँ र कस्तो कस्तो लगानी गर्ने भन्ने विषयमा हामी अत्यन्त सचेत हुनुपर्छ ।

कृपया हामीलाई त्यस दिनमात्र बधाई दिनुहोला, जुन दिन हाम्रो काम देखिन थाल्नेछ । जुन दिन शिक्षा, विज्ञान तथा प्रविधिका क्षेत्रमा हाम्रा उपलब्धिहरू बधाईका पात्र बन्नेछन् ।

अहिलेलाई तपाईँहरूको शुभेच्छा र शुभकामना आवश्यक छ । हामीले देखेको सपना पूरा गर्न र गन्तव्यसम्म पुग्नका लागि हामीलाई निरन्तर तपाईँहरू सबै नागरिकको साथ र कर्मचारी संयन्त्रको सहयोग चाहिन्छ ।