काठमाडौं । सरकारले विकास ऋणपत्रमार्फत ८ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । विकास ऋणपत्र बिक्रीका लागि नेपाल राष्ट्र बैंकले सूचना आह्वान गरेको हो ।
ऋणपत्रका लागि फागुन २९ गते दिउँसो ३ बजेसम्म बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ । फागुन ३० गते राष्ट्र बैंकले ऋणपत्र बिक्री जारी गर्नेछ । ‘विकास ऋणपत्र २०८८ ‘झ’ नाम दिइएको ऋणपत्रको परिपक्व अवधि ८ वर्ष छ भने ऋणपत्रको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ ।
ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्ने सूचनामा उल्लेख छ । ऋणपत्र धितो राखेर बैंक तथा वित्तीय संस्था र राष्ट्र बैंकबाट ऋण लिन सकिन्छ भने ऋणपत्रको ब्याज अर्धवार्षिक रूपमा भुक्तानी हुन्छ ।
ऋणपत्रमा घटीमा ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा लगानी गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।