• Menu

मन्त्रिपरिषद विस्तार : नवनियुक्त १६ मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

नेपाल प्रफिट

२०८० फागुन २३, बुधबार २०:३५

मन्त्रिपरिषद विस्तार : नवनियुक्त १६ मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । नवनियुक्त १६ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । शीतल निवासमा केहीबेरअघि आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरुलाई शपथ ग्रहण गराएका हुन् ।

नेकपा एमाले र माओवादी केन्द्र मिलेर नयाँ सत्ता समीकरण बनेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रोपटक मन्त्रीमण्डल विस्तार गरेका हुन् ।

सोमबार तीन मन्त्रीले शपथ लिएका थिए । यससँगै प्रचण्ड मन्त्रिपरिषद २० सदस्यीय भएको छ । सोमबार शपथ लिएका मन्त्रीहरुको पनि जिम्मेवारी तोकिएको छ ।

माओवादी केन्द्रबाट आज उपप्रधान तथा परराष्ट्रमन्त्रीका रुपमा नारायणकाजी श्रेष्ठ, अर्थमन्त्रीका रुपमा वर्षमान पुन, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्रीका रुपमा शक्ति बस्नेत र सञ्चार तथा सूचना प्रविधिमन्त्रीका रुपमा रेखा शर्माले शपथ लिए । उनीहरुमध्ये श्रेष्ठ, बस्नेत र शर्मा दोहोरिएका हुन् ।

माओवादीबाट सोमबार नै शपथ लिएका हितबहादुर तामाङले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

नेकपा एमालेबाट उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साह, खानेपानीमन्त्री राजेन्द्र राई, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी र रक्षामन्त्री हरि उप्रेतीले शपथ लिएका छन् ।

एमालेबाट सोमबार शपथ लिएका पदम गिरीले कानुन न्याय तथा संसदीय मामिलामन्त्रीको जिम्मेवारी पाएका छन् ।

त्यस्तै आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ र युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले पनि शपथ लिएका छन् ।

राष्ट्रपतिबाट सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका डोलप्रसाद अर्यालले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

एकीकृत समाजवादीबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशी र सहरी विकास मन्त्री धनबहादुर बुढाले पनि शपथ लिएका छन् ।

बुधबार बसेको गठबन्धनको बैठकमा भएको निर्णयअनुसार नेकपा एमालेले उपप्रधानमन्त्रीसहित ८, माओवादी केन्द्रले प्रधानमन्त्री र उपप्रधानमन्त्रीसहित ५, रास्वपाले उपप्रधानमन्त्रीसहित ४ तथा जनता समाजवादी पार्टी र एकीकृत समाजवादीले २-२ मन्त्रालय पाएका छन् ।

वन तथा वातावरण र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जसपाको भागमा परेका छन् । जसपाले सरकारलाई समर्थन गरे पनि मन्त्री बन्ने नेताहरुको नाम टुंगो लगाइसकेको छैन ।