काठमाडौं । केन्द्रको समीकरण भत्किएपछि गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश सरकारमा प्रतिशोधको राजनीतिमा उत्रिएका छन् । केन्द्रमा माओवादी केन्द्रले ‘धोका दिएको’ निष्कर्षमा पुगेका नेपाली कांग्रेसका मुख्यमन्त्रीहरुले धमाधम माओवादी मन्त्री बर्खास्त गर्न थालेका हुन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मंगलबार माओवादी केन्द्रका दुई मन्त्री बर्खास्त गरेका थिए । कांग्रेसबाट मुख्यमन्त्री बनेका पाण्डेले सामाजिक विकासमन्त्री सुशील सिम्खडा र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेशमबहादुर जुग्जालीलाई हटाएका हुन् ।
मंगलबार नै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले माओवादी केन्द्रका तीन मन्त्रीलाई पदबाट बर्खास्त गरेका थिए । मुख्यमन्त्री शाहले सामाजिक विकासमन्त्री झपट साउद, उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रमेशसिंह धामी र राज्यमन्त्री गीता माललाई बर्खास्त गरेका हुन् ।
त्यस्तै लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बुधबार दुई मन्त्रीलाई बर्खास्त गरेका छन् । माओवादी केन्द्रबाट मन्त्री बनेका धनबहादुर मास्की र कृष्णा केसी (नमुना) लाई मुख्यमन्त्री चौधरीले बर्खास्त गरेका हुन् । मास्की अर्थ र केसी सहरी विकासमन्त्री थिए ।
आफ्ना मन्त्रीहरु बर्खास्तीमा परेपछि माओवादी केन्द्रले तीनवटै प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
उता, कर्णाली प्रदेशका तीन मन्त्रीले राजीनामा दिएका छन् । कांग्रेसबाट प्रदेश सरकारमा सहभागी मन्त्रीहरुले मंगलबार माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका राजकुमार शर्मासमक्ष राजीनामा बुझाएका हुन् ।
कर्णालीका आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंह, सामाजिक विकासमन्त्री खड्कबहादुर पोखरेल र उद्योग, पर्यटन तथा वातावरणमन्त्री कृष्णकुमार बीसीले राजीनामा दिएका हुन् । मुख्यमन्त्रीले बर्खास्त गर्न सक्ने बुझेपछि उनीहरुले पहिल्यै राजीनामा दिएको बुझिएको छ ।
समर्थन फिर्ता लिएपछि सुदूरपश्चिम सरकारबाहेक गण्डकी र लुम्बिनी सरकार धरापमा परेका छन् । सुदूरपश्चिम सरकार भने अहिले पनि बहुमतमै छ ।