मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिकामा १५ वर्षीया किशोरीको बीभत्स हत्या भएको छ । पथरी शनिश्चरे नगरपालिका-७ लामाटोलमा दाजु (मामाको छोरा) विनोद राईको घरमा बसेर पढ्दै आएकी ज्ञानुकुमारी राईको हत्या भएको मोरङ प्रहरीले जनाएको छ ।
खोटाङको ऐंसेलुखर्क घर भएकी राई दुई वर्षदेखि दाजुको घरमा बसेर पथरीस्थित पञ्चायत माविमा कक्षा ७ मा पढ्दै थिइन् । विनोदको नास्ता पसल छ ।
सोमबार राति साढे १० बजे शौचालय जाने क्रममा उनको गर्धनमा धारिलो हतियार प्रहार भएको मोरङ प्रहरी प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए । हतियार प्रहारबाट उनको घटनास्थलमै मृत्यु भएको उनले बताए ।
उनी बस्ने घरबाहिर शौचालय रहेको र कोठाबाट शौचालय जाने क्रममा हत्या भएको दाहालले बताए । प्रहरीले अहिलेसम्म हत्याको कारण र संलग्नको पहिचान गर्न सकेको छैन । तर, प्रारम्भिक अनुसन्धानमा योजनाबद्ध रुपमा हत्या भए देखिएको प्रहरीले जनाएको छ ।