बगलुङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संस्कार, संस्कृति र पहिचानसहितको व्यावहारिक सीपमूलक शिक्षा आजको आवश्यकता भएको बताएका छन् ।
अनन्तश्री ब्रह्माण्डीय महायज्ञ २०८० लाई शनिबार सम्बोधन गर्दै उनले देशका विभिन्न स्थानमा सञ्चालित गुरूकुल वेदविद्याश्रमबाट संस्कार र संस्कृति प्रवाह भइरहेको बताए ।
‘गुरूकुल वेदविद्याश्रमबाट उत्पादित जनशक्ति धर्मसंस्कार संस्कृतिको संरक्षण संवर्द्धन, आफ्नो देशका तीर्थस्थल आदिको महिमा र गरिमालाई जनसमुदायमा बुझाउन तल्लीन छन्,’ उनले भने, ‘२० वर्षअघि मुक्तिनाथ जस्तो तत्कालीन दुर्गम स्थानमा स्वास्थ्य सेवाश्रमको स्थापनाले स्वास्थ्य क्षेत्रको विकास हुनु महत्त्वपूर्ण छ ।’
भौतिक विकासको दौडमा रहेको वर्तमान विश्वले जबसम्म आध्यात्मिक चेतनाको विकास गर्न सक्दैन, तबसम्म समाजले शान्तिको श्वास फेर्न नसक्ने उनले बताए । ‘गौतम बुद्धको देशमा जन्मेका हामी शान्तिका लागि सम्पूर्ण विश्वको आकर्षणको केन्द्र बन्नुपर्ने,’ उनले भने, ‘पैसाका लागि बिदेसिने अवस्था परिवर्तन गर्नुछ ।’