चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार अर्थतन्त्रमा देखिएका चुनौती सम्बोधन गर्दै समृद्धिको आधार तयार गर्न क्रियाशील रहेको बताएका छन् ।
‘घुमौँ भरतपुर’ भन्ने नारामा सुरु गरिएको ‘भरतपुर भ्रमण वर्ष २०२४’ को शुक्रबार उद्घाटन गर्दै प्रधानमन्त्रीले आफू नेतृत्वको वर्तमान सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित अर्थतन्त्रका चुनौती सम्बोधन गर्न क्रियाशील रहेको बताए ।
‘१४ महिनामा देश र विश्व समुदायले समेत देख्ने गरी मानक स्थापित भएका छन्,’ उनले भने, ‘भ्रष्टाचार नियन्त्रण, अर्थतन्त्रमा सुधार, संघीयता कार्यान्वयन, सामाजिक न्याय र सेवा प्रवाहमा जे–जति काम भएका छन्, यी देशका लागि महत्त्वपूर्ण उपलब्धि हुन् ।’
दिगो विकासबाट आर्थिक समृद्धि हासिल गर्न सहमतिको संस्कृति र राष्ट्रिय सहमति आवश्यक रहेको उनको भनाइ छ । प्रधानमन्त्रीले राष्ट्रिय राजनीतिका विशिष्ट व्यक्तिहरूको सामूहिक उपस्थितिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सकारात्मक सन्देश सम्प्रेषण हुने बताए ।