• Menu

४१.०६ मेगावाटको संखुवा खोला जलविद्युत आयोजनाको पीपीएमा हस्ताक्षर, लागत ८ अर्ब

नेपाल प्रफिट

२०८० फागुन १०, बिहीबार १५:१४

४१.०६ मेगावाटको संखुवा खोला जलविद्युत आयोजनाको पीपीएमा हस्ताक्षर, लागत ८ अर्ब

काठमाडौं । संखुवा खोला जलविद्युत आयोजनाको विद्युत खरिद-बिक्री सम्झौता (पीपीए) सम्पन्न भएको छ । नेपाल विद्युत प्राधिकरण र आयोजना प्रवर्धक गुराँस हाइड्रो प्रालिबीच बुधबार ४१.०६ मेगावाटको संखुवा खोला जलविद्युत आयोजनाको पीपीएमा हस्ताक्षर भएको हो ।

पीपीएमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजना प्रवर्धक कम्पनी (गुराँस हाइड्रो) का अध्यक्ष शिवप्रसाद घिमिरेले हस्ताक्षर गरेका छन् ।

सुख्खायाम (मंसिर १६ देखि जेठ १५) सम्मका लागि ४ रुपैयाँ ८० पैसा र वर्षायाम (जेठ १६ देखि मंसिर १५) सम्मका लागि ८ रुपैयाँ ४० पैसा कायम रहने गरी पीपीए सम्पन्न भएको छ ।

आयोजनाको कुल लागत ७ अर्ब ९७ करोड ५ लाख ८८ हजार पाँच सय रुपैयाँ (भ्याटसहित) रहने आयोजनाका अध्यक्ष घिमिरेले जानकारी दिए । विद्युत विकास विभागले आयोजनाको अध्ययन गर्दा लागेको खर्च तिरेर गुराँस कम्पनीले प्रतिस्पर्धाबाट यो आयोजना प्राप्त गरेको हो ।

आयोजनाको बाँध संरचना संखुवासभाको सिलिचिङ गाउँपालिकमा छ भने विद्युत गृह भोजपुरको साल्पासिलिचो गाउँपालिकामा छ । आयोजनाको विद्युत गृहमा करिब २१ मेगावाट क्षमताका २ वटा विद्युत उत्पादन युनिट रहने गरी डिजाइन गरिएको छ ।

२०७७ सालमा विद्युतको ग्रिड कनेक्सनसम्बन्धी सम्झौता सम्पन्न भइसकेको यस आयोजनाको बिजुली संखुवासभाको शीतलपाटी सबस्टेसनसम्म २३२ केभी ४ किलोमिटर प्रसारण लाइन बनाएर जोडिनेछ ।

प्रतिक्रिया दिनुहोस्