ताप्लेजुङ । राष्ट्रिय गौरवको आयोजना तमोर करिडोरबाट भारत र चीन जोडिएका छन् । मंगलबार साँझ टिप्ताला नाका हुँदै चीन जोडिने सडक ‘ब्रेक थ्रु’ भएपछि तमोर करिडोरबाट चीन र भारत जोडिएका हुन् ।
चीनले चार वर्षअघि नै समुद्र सतहदेखि पाँच हजार दुई सय मिटर उचाइमा टिप्ताला नाका हुँदै फक्ताङलुङ गाउँपालिकाको ओलाङ्चुङगोला क्षेत्रमा सडक विस्तार गरेको थियो ।
ओलाङ्चुङगाला हुँदै सेराप बगरसम्म ‘ट्र्याक’ खोल्ने काम चिनियाँ निर्माण कम्पनीले गरेको थियो । नेपाल र चीनको नाकाबाट नेपालतर्फ ३५ किलोमिटर क्षेत्रमा ट्रयाक खोलिएको थियो ।
नेपालतर्फ सुनसरीको चतरादेखि खोल्दै लगिएको ट्रयाक यसअघि चीनले खोलेको ट्र्याकमा गत मंगलबार साँझ जोडिएको उत्तर–दक्षिण (मूलघाट–दोभान–ओलाङ्चुङगोला) सडक आयोजनाका प्रमुख अमिन्द्र खड्काले बताए ।
तमोर नदीको उद्गमस्थल तिप्तला नाकाबाट धनकुटाको मूलघाट हुँदै तमोर किनारै–किनार बनेको सडक भारतसँग जोडिन्छ । उत्तर दक्षिण (मूलघाट–दोभान–ओलाङ्चुङगोला) सडक आयोजनाअन्तर्गत सञ्चालित सडकको ट्रयाक खोलिएको आयोजना प्रमुख खड्काले बताए । आयोजनाका अनुसार सडक निर्माण काठमाडौँको एसबीए एलाइट जेभीले गरेको हो ।
ताप्लेजुङ सदरमुकाम फुङलिङमात्रै नभएर यो सडकको ट्र्याक खुलेसँगै कोशी प्रदेश उत्तरतर्फको छिमेकी देश चीनसँग सडक सञ्जालले जोडिएको छ । एसबीए एलाइटले तापेथोकदेखि ओलाङ्चुङगोलासम्मको ट्र्याक खोल्ने ठेक्का ४४ करोड रुपैयाँमा लिएको थियो । तापेथोकबाट काम थालेको ६ वर्षमा ट्र्याक खोलिएको निर्माण कम्पनीले जनाएको छ ।
निर्माण कम्पनीका अनुसार अब ६ वटा मेसिन लगाएर तिप्तला नाकासम्म यसअघि खुलाएको ट्र्याकलाई मर्मत गरेर वैशाखमा ताप्लेजुङबाट बिदा हुने योजना छ ।
मूलघाट–दोभान–ओलाङ्चुङगोला सडक सुनसरीको चतरादेखि ओलाङ्चुङगोलासम्म २३० किलोमिटर छ । ओलाङ्चुङगोलादेखि तिप्तला नाकासम्मको दूरी २४ किलोमिटर छ ।
तमोर करिडोरको लम्बाइ २५४ किलोमिटरमा छ । कोशी प्रदेशको राजधानी विराटनगरसँग जोडिएको सीमा नाका जोगवनीबाट सुनसरीको चतरा ५१ किलोमिटरमा टाढा छ ।
२०६५ सालमा तमोर करिडोर निर्माण थालिएको थियो । २०६७ सालमा यो सडकलाई राष्ट्रिय गौरवको प्राथमिकता प्राप्त आयोजना घोषित गरी निर्माण अघि बढाइएको थियो । चीनसँग सडक सञ्जालले जोडिएसँगै ओलोङ्चुङगोलाका स्थानीय उत्साहित भएका फक्ताङलुङ गाउँपालिका–७ का सदस्य टासी शेर्पाले बताए ।
सडक जोडिए पनि अगाडि चीनबाट खोल्दै ल्याएको ट्रयाक मर्मतसम्भार गर्न केही समय लाग्ने फक्ताङलुङ गाउँपालिका–७ का अध्यक्ष छेतेन लामाले बताए । ओलाङ्चुङगोला सडक पुगेसँगै आगामी नयाँ वर्षमा आन्तरिक तथा बाह्य पर्यटकको उल्लेख्य आगमन हुने अपेक्षा गरिएको उनले जानकारी दिए ।