• Menu

मेलम्चीमा भ्रष्टाचार गरेको आरोपमा पूर्वसचिव भीम उपाध्यायसहित १७ जनाविरुद्ध मुद्दा दायर

नेपाल प्रफिट

२०८० फागुन ६, आइतबार १७:४७

मेलम्चीमा भ्रष्टाचार गरेको आरोपमा पूर्वसचिव भीम उपाध्यायसहित १७ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा कामै नगरी भुक्तानी दिएको आरोपसहित पूर्वसचिव भीमप्रसाद उपाध्यायसहित १७ जनाविरूद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तीन पूर्वसचिवसहित १७ जनाविरुद्ध विशेष अदालतमा आइतबार मुद्दा दायर गरेको हो ।

मुद्दा दायर गरिएकामा तीन पूर्वसचिवहरु उपाध्याय, डा. सञ्जय शर्मा र गजेन्द्रकुमार ठाकुरसहित परामर्शदाता र ठेकेदार कम्पनी पनि छन् । अख्तियारको आरोप पत्रमा मेलम्ची आयोजनाको निर्माण व्यवसायी सीएमसी दि रभेन्नालाई रनिङ बिलमा काम नै नगरी भुक्तानी गरेको, निर्माण व्यवसायीले छाडेर गएको मेसिन, यन्त्र, उपकरण र अन्य सामग्रीको रेन्टल चार्जसमेत कट्टा नगरी भुक्तानी गरेको उल्लेख छ ।

आयोगले तत्कालीन मेलम्ची आयोजना बोर्डका तत्कालन अध्यक्ष तथा खानेपानी मन्त्रालयका सचिव शर्मा र अर्थ मन्त्रालयका तत्कालीन सह-सचिव मुकुन्दप्रसाद पौडेलविरूद्ध पनि मुद्दा दर्ता गरेको छ । उनीहरूबाट ६ करोड ९७ लाख ८२ हजार १७८ रूपैयाँ बिगो मागदाबी गरिएको छ ।

त्यस्तै मेलम्ची खानेपानी विकास समिति बोर्डको तत्कालीन अध्यक्ष र खानेपानी मन्त्रालयका सचिव उपाध्यक्षसँग ४ करोड ११ लाख ३४ हजार २७९ रूपैयाँ बिगो मागदाबी गरिएको छ । मेलम्ची खानेपानी बोर्डका अध्यक्ष ठाकुरसँग ६० करोड ४९ लाख १९ हजार ८८४ बिगो मागदाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्