काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले १० मेगावाटसम्मका जलविद्युत् आयोजनाको विद्युत् खरिद-बिक्री सम्झौता (पीपीए) खुलाउने भएको छ । स्वदेशी साना विद्युत् प्रवर्धकलाई विद्युतमा लगानी प्रोत्साहन गर्न पीपीए खुलाउने निर्णय गरिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरण सञ्चालक समितिको ९६३औं बैठकले १० मेगावाटसम्मका नदी प्रवाहमा आधारित (आरओआर) र अर्धजलाशययुक्त (पीआरओआर) जलविद्युत् आयोजनासँग जहिले र जति पनि पीपीए गर्ने निर्णय गरेको जनाइएको छ । प्राधिकरणले १० मेगावाटसम्मका जलविद्युत् आयोजनाको विद्युत् ‘ल्याऊ या तिर’ (टेक अर पे) प्रावधानका आधारमा खरिद गर्ने भएको छ ।
प्राधिकरणले यस्ता आयोजनाको विद्युत् सुक्खायाम (१६ मंसिर-१५ जेठ) र वर्षायाम (१६ जेठ-१५ मंसिर) का लागि हाल कायम दर क्रमशः ८.४० र ४.८० रुपैयाँ प्रतियुनिटमा खरिद गर्ने जनाएको छ ।
यससँगै स्थानीय प्राकृतिक स्रोतको अधिकतम प्रयोग र स्वदेशी साना प्रवर्धकको लगानी जलविद्युत क्षेत्रमा प्रोत्साहन गर्न १० मेगावाटसम्मका आयोजनामा उत्पादन सम्मिश्रणका आधारमा तय गरिएको पीपीए सीमा लागू नहुने भएको छ ।
प्राधिकरणका अनुसार हालसम्म १० मेगावाटसम्मका ८९ आयोजनाले पीपीएका लागि निवेदन दिएका छन् । ती आयोजनाको क्षमता ३५१ मेगावाट छ । त्यसमध्ये १९५ मेगावाटबराबरका ४४ आयोजनासँग ग्रिडआबद्ध सम्झौता भइसकेको प्राधिकरणले जनाएको छ ।