काठमाडौं । सरकारले बजेटको आकार घटाएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटको आकार घटाएका हुन् ।
चालु आवका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएका महतले १५ खर्ब ३० अर्ब २६ करोडमात्रै खर्च हुने संशोधित अनुमान गरेका हुन् । चालु आवमा ८७.३८ प्रतिशतमात्रै खर्च हुने उनले बताए ।
महतले पुँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड विनियोजन गरिएकोमा ८४.१३ प्रतिशतमात्रै खर्च हुने जानकारी दिए । त्यस्तै चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड विनियोजन भएकोमा ८८.२४ प्रतिशतमात्रै खर्च हुने संशोधित अनुमान रहेको गरिएको छ ।
वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७ अर्ब ४५ करोड विनियोजन गरिएकोमा ८७.३९ प्रतिशत खर्च हुने अनुमान अर्थमन्त्रीको छ ।
स्रोत व्यवस्थातर्फ राजस्वबाट १२ खर्ब ४८ अर्ब ६२ करोड र आन्तरिक ऋण २ खर्ब ४० अर्ब उठाउने लक्ष्य लिइएकोमा राजस्व १० खर्ब ६९ अर्बमात्रै उठ्ने अनुमान अर्थमन्त्री महतको छ । राजस्व र आन्तरिक ऋणबाट १३ खर्ब ९ अर्ब ३० करोड ८६ लाख उठ्ने संशोधित अनुमान महतले प्रस्तुत गरेका छन् ।
बाह्य ऋण २ खर्ब १२ अर्ब ७५ करोड अनुमान गरिएकोमा त्यसलाई संशोधन गरी १ खर्ब ८० अर्ब ८३ करोड ६७ लाखमा झारिएको छ । त्यस्तै अनुदानबाट ४९ अर्ब ९४ करोड प्राप्त हुने अनुमान गरिएकोमा संशोधन गरी ४० अर्ब १२ करोड ९ लाख बनाइएको छ ।
बजेटको अर्धवार्षिक समीक्षा कार्यक्रममा अर्थमन्त्री महतले कठिन परिवेशमा आफूले जिम्मेवारी लिएको बताए । अहिले अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक रहेको उनको दाबी छ ।
‘काम गर्ने कुरा, कुरा गरेको जस्तो हुन्न । आर्थिक सुधारको विषयमा तत्काल परिणाम निस्कन्न,’ उनले भने, ‘जति सूचक छन्, सकारात्मक छन् । सबै सूचक सकारात्मक हुँदा आर्थिक गतिविधि बढ्छ, सार यही हो ।’