काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी दिनमा थप कूटनीतिक पहलमार्फत सीमा क्षेत्रको व्यापार व्यवस्थित तुल्याइने बताएका छन् ।
नेपाल हिमालय सीमापार वाणिज्य संघको २४औँ साधारणसभाको शनिबार उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले व्यापार प्रवर्धनका लागि आवश्यक पूर्वाधार तयार गर्नुपर्ने विषयमा आफू जानकार रहेको बताए ।
आफूले तेस्रोपटक सरकारको नेतृत्व गरेपश्चात् नेपाल र चीनबीचको अन्तरदेशीय र व्यापारिक नाका सञ्चालनलाई विशेष ध्यान दिएको उनले उल्लेख गरे । प्रधानमन्त्री प्रचण्डले तातोपानीलगायतका उत्तरी क्षेत्रका नाकामा आवातजावात र आर्थिक क्रियाकलापमा सहजता आएको बताए ।
प्रधानमन्त्रीले गत असोजमा सम्पन्न आफ्नो चीन भ्रमणका क्रममा सीमा क्षेत्रको विकास, यहाँका बासिन्दाका समस्या, चीन सरकारको तर्फबाट खेल्नुपर्ने भूमिका र गर्नुपर्ने सहयोगका विषयमा पर्याप्त छलफल भएको जानकारी गराए ।
‘चीन भ्रमणका क्रममा मैले नेपाल र चीनको संयुक्त प्रयासबाट यस क्षेत्रको विकासमा निर्वाह गर्नुपर्ने भूमिकाबारे गहन छलफल गरेको थिएँ,’ उनले भने, ‘यस ऐतिहासिक भ्रमणका क्रममा नेपालको उत्तरी पहाडी क्षेत्रका लागि उत्पादन र जीवित सामग्रीको प्रमाणपत्र हस्तान्तरणका विषयमा छलफल भएको छ । यसले सीमापार व्यापार प्रवर्धनमा गुणात्मक अर्थ राख्छ ।’