• Menu

जतिसुकै शक्तिशाली भए पनि नागरिकतामा किर्ते र सहकारीमा ठगी गर्नेहरुले सजाय पाउनुपर्छ: गगन थापा

नेपाल प्रफिट

२०८० माघ २४, बुधबार १२:२०

जतिसुकै शक्तिशाली भए पनि नागरिकतामा किर्ते र सहकारीमा ठगी गर्नेहरुले सजाय पाउनुपर्छ: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले जतिसुकै शक्तिशाली व्यक्ति भए पनि सामान्य नागरिकलाई सरह कारबाही हुनुपर्ने बताएका छन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा उनले भने, ‘सरकारले नागरिकतामा किर्ते गर्ने र सरकारी ठगीमा संलग्न हुनेहरु हुन् या मतियार हुनेहरु होउन् सबैलाई कारबाहीको दायरामा ल्याउनुपर्छ, यसले नागरिकमा भरोसा बढाउनेछ ।’

नेताहरुले सजिलै एक‑अर्कालाई आरोप‑प्रत्यारोप लगाउने तर अलिकति गहिरिएर नहेर्ने गरेको उनले बताए । ‘हामी सबै सरकारमा बसेका छौं, कतिपय सडकका बारेमा हामी प्रश्न गर्छौं, ती कतिपय त हामी आफैंले सुरु गरेका हुन्छौं,’ उनले भने ।

पूर्वाधार बनाउने नेतृत्व गर्ने साथीहरु पनि प्रशस्त भेटिने सांसद थापाको भनाइ छ । ‘यो कुनै व्यक्ति, कुनै दल या कुनै सरकारको मात्र होइन, हामी सबैको सामूहिक असफलता हो,’ उनले भने, ‘हामी हाम्रो पूर्वाधार समयमा बनाउन सकिरहेका छैनौं ।’

यस विषयमा संसदले यसपटक राम्रो छलफल गर्नुपर्ने आवश्यकता रहेको उनले बताए । यस्ता साना‑साना कामबाटै नागरिक महसुस गर्न सक्ने र टुटेको भरोसालाई जागृत गराउन सक्ने सांसद थापाले बताए ।