• Menu

सांसद थापाले भने‑ समयमा पूर्वाधार बनाउन नसक्नु अहिलेसम्मका सबै सरकारको असफलता हो

नेपाल प्रफिट

२०८० माघ २४, बुधबार १२:१०

सांसद थापाले भने‑ समयमा पूर्वाधार बनाउन नसक्नु अहिलेसम्मका सबै सरकारको असफलता हो

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले किन कुनै पनि सरकारले समयमा पूर्वाधार बनाउन नसकेको भन्दै संसदमा प्रश्न गरेका छन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा उनले भने, ‘पूर्वाधारहरु समयमा बन्दैनन्, हामी सबै दल सरकारमा बसिसकेका छौं, कसैले पनि समयमा पूर्वाधार बनाउन सकेका छैनौं । किन ?’

‘हामी सजिलै एक‑अर्कालाई आरोप‑प्रत्यारोप लगाउँछौं तर अलिकति गहिरिएर हामीले हेर्‍यौं भने हामी सबै सरकारमा बसेका छौं, कतिपय सडकका बारेमा हामी प्रश्न गर्छौं, ती कतिपय त हामी आफैंले सुरु गरेका हुन्छौं,’ उनले अगाडि भने ।

आफैंले सुरु गरेका र आफैंले शिलान्यास गरेका सडक पनि किन बनेनन् भनेर हामीले अरुलाई प्रश्न गर्ने गरेको उनले बताए । संसदको शून्य समयमा नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले दिएको अभिव्यक्तिप्रति पनि लक्षित थियो यो उनको भनाइ ।

सांसद बाँस्कोटाले ‘प्रधानमन्त्री प्रचण्ड पाँचखाल जानुभयो र आफ्नो ड्राइभरलाई सोध्नुभयो यो बाटो यस्तो होला भन्ने मैले सोचेको थिएन । धन्न हाम्रो देशको प्रधानमन्त्री । अर्थमन्त्री नगरकोट भएर मेरो नगरमा जानुभयो, भौतिकमन्त्री यही हुनुहुन्छ । उहाँलाई चारपटक भने आज बाटो बन्दैन किन ?’ भन्दै प्रश्न गरेका थिए । र, त्यो सडक उनी स्वयंले उद्घाटन गरेका हुन् ।

पूर्वाधार बनाउने नेतृत्व गर्ने साथीहरु पनि प्रशस्त भेटिने सांसद थापाको भनाइ छ । ‘यो कुनै व्यक्ति, कुनै दल या कुनै सरकारको मात्र होइन, हामी सबैको सामूहिक असफलता हो,’ उनले भने, ‘हामी हाम्रो पूर्वाधार समयमा बनाउन सकिरहेका छैनौं ।’

यस विषयमा संसदले यसपटक राम्रो छलफल गर्नुपर्ने आवश्यकता रहेको उनले बताए । यस्ता साना‑साना कामबाटै नागरिक महसुस गर्न सक्ने र टुटेको भरोसालाई जागृत गराउन सक्ने सांसद थापाले बताए ।