• Menu

फस्टाउँदै नेपाली छुर्पीको विदेशी बजार, कुकुरले रुचाएपछि मागमा उच्च वृद्धि

बढी निर्यात हुने वस्तुको सूचीमा १४ नम्बरमा, पाँच वर्षमा साढे १० अर्बको निकासी, अमेरिका जान्छ सबैभन्दा धेरै

नेपाल प्रफिट

२०८० माघ २२, १०:४४

फस्टाउँदै नेपाली छुर्पीको विदेशी बजार, कुकुरले रुचाएपछि मागमा उच्च वृद्धि

काठमाडौं । नेपालमा गाईभैंसीको दुधबाट बनाइने छुर्पी विगतमा मानिसले खानका लागि मात्र उपयोग हुन्थ्यो । विस्तारै विदेशी बजारबाट छुर्पीको माग हुन थाल्यो । त्यो पनि मानिसले खानका लागि नभएर कुकुर र बिरालालाई खुवाउनका लागि ।

छुर्पी निर्यातको इतिहास धेरै लामो पनि छैन । तर, पाँच-सात वर्षकै अवधिमा नेपाली छुर्पी विदेशी कुकुरका लागि आकर्षक खानामा दरिएको छ । अहिले उच्च निर्यात हुने वस्तुको सूचीमा १४ नम्बरमा परेको छ छुर्पी ।

नेपालबाट केही वस्तुको उत्पादन र निर्यात खस्किरहेका बेला छुर्पीको माग भने उच्च परिमाणमा हुन थालेको छ । पाँच वर्षअघि वार्षिक १ अर्ब हाराहारीको छुर्पी निर्यात हुने गरेकोमा गत वर्ष २०७९/८० मा करिब साढे ३ अर्ब रुपैयाँको निर्यात भएको थियो । एसिया, अमेरिका र युरोपदेखि अफ्रिका महादेशसम्मका २५ भन्दा बढी देश नेपाली छुर्पीको आकर्षक बजार बनेको छ ।

नेपालबाट उच्च निर्यात हुने वस्तुको सूचीमा १४ नम्बरमा

चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि पुससम्मको तथ्यांकअनुसार नेपालबाट उच्च निर्यात हुने वस्तुको १४ नम्बरमा छ छुर्पी । यो अवधिमा १ अर्ब ४१ करोड रुपैयाँभन्दा बढीको ७ लाख ९ हजार ३९५ किलो छुर्पी निर्यात भएको छ ।

गत वर्षको पहिलो ७ महिनामा १ अर्ब ३४ करोड रुपैयाँभन्दा बढीको ७ लाख १७ हजार ७६९ किलो, आव २०७८/७९ को सोही अवधिमा १ अर्ब २० करोडभन्दा बढीको ७ लाख ४६ हजार ३६६ किलो र आव २०७७/७८ मा ८३ करोड ४५ लाखभन्दा बढीको ५ लाख २८ हजार २६८ किलो छुर्पी निकासी भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै आव २०७५/७६ मा ४२ करोड ९३ लाख रुपैयाँबराबरको २ लाख ६४ हजार किलो र २०७६/७७ मा ५८ करोड ४४ लाख रुपैयाँबराबरको ३ लाख ५२ हजार किलो छुर्पी निर्यात भएको थियो । त्यसअघिका वर्षहरुमा छुर्पी निर्यातको हिस्सा निकै सानो छ ।

छुर्पी निर्यात बढ्दै जाँदा उत्पादकले पाउने प्रतिकिलो मूल्य पनि बढ्दै गएको छ । आव २०७८/७९ मा १ हजार ६१२, आव २०७९/८० मा १ हजार ८७६ र चालु आवमा १ हजार ९९१ रुपैयाँ प्रतिकिलोका दरले छुर्पी निर्यात भएको हो । बितेका तीन वर्षमा छुर्पी निर्यातको परिमाण भने सामान्य घट्दै गएको तथ्यांकले देखाउँछ ।

पाँच वर्षमा साढे १० अर्बको निर्यात

बितेका पाँच वर्षमा नेपालबाट साढे १० अर्ब रुपैयाँको छुर्पी निर्यात भएको छ । आर्थिक वर्ष २०७५/७६ मा १ अर्ब ५ करोड २८ लाख रुपैयाँबराबरको ६ लाख ३६ हजार किलो र आव २०७६/७७ मा १ अर्ब २२ करोड ८३ लाख रुपैयाँबराबरको ७ लाख १७ हजार किलो छुर्पी निर्यात भएको हो ।

त्यसपछिका वर्षहरुमा छुर्पी निर्यातमा उच्च वृद्धि भएको छ । भन्सार विभागको तथ्यांकअनुसार आव २०७७/७८ मा १ अर्ब ९६ करोड ५० लाख रुपैयाँबराबरको १२ लाख ६२ हजार किलो, आव २०७८/७९ मा २ अर्ब ९१ करोड १९ लाख रुपैयाँबराबरको १७ लाख ४४ हजार किलो र आव २०७९/८० मा ३ अर्ब ४० करोड ९० लाख रुपैयाँबराबरको १७ लाख ८६ हजार किलो छुर्पी निर्यात भएको छ ।

छुर्पी निर्यातको परिमाणसँगै व्यापारीले मूल्य पनि बढी नै पाउन थालेका छन् । पाँच वर्षको अवधिमा छुर्पीको मूल्य प्रतिकिलो २६३ रुपैयाँले बढेर १ हजार ६५४ रुपैयाँबाट १ हजार ९०८ रुपैयाँ पुगेको छ ।

आव २०७५/७६ प्रतिकिलो १ हजार ६५४ रुपैयाँ किलो निर्यात भएको छुर्पी अर्को वर्ष १ हजार ७१२ रुपैयाँ प्रतिकिलोका दरले निर्यात भएको थियो । विभागका अनुसार आव २०७७/७८ मा प्रतिकिलो १ हजार ५५५, आव २०७८/७९ मा प्रतिकिलो १ हजार ६६९ र २०७९/८० मा प्रतिकिलो १ हजार ९०८ रुपैयाँ पुगेको छ ।

अमेरिकाबाट सबैभन्दा बढी माग

नेपालबाट २९ देशमा छुर्पी निर्यात हुन्छ । त्यसमध्ये सबैभन्दा धेरै माग अमेरिकाबाट आउँछ । बितेका चार वर्षमा अमेरिकामा मात्रै ८ अर्ब १७ करोड ३१ लाखको छुर्पी निर्यात भएको छ । जबकि, यो अवधिमा नेपालबाट ९ अर्ब ५१ करोड ४४ लाख रुपैयाँको छुर्पी विभिन्न देशमा निर्यात भएको छ ।

आव २०७६/७७ मा १५ देशमा छुर्पी निर्यात भएको छ । त्यस वर्ष अमेरिकामा मात्रै १ अर्ब ५ करोड ९१ लाख रुपैयाँको निर्यात भएको छ । त्यस्तै २०७७/७८ मा १ अर्ब ७० करोड १३ लाख, आव २०७८/७९ मा २ अर्ब ४४ करोड ५० लाख र गत वर्ष २ अर्ब ९६ करोड ७६ लाख रुपैयाँको छुर्पी अमेरिका निर्यात भएको विभागले जनाएको छ ।

कुन–कुन देशमा निर्यात ?

नेपालबाट सुरुवाती वर्षहरुमा ५–७ देशमा मात्र छुर्पी निर्यात हुन्थ्यो । अहिले २९ देशमा निर्यात हुन्छ । तथ्यांकअनुसार अमेरिकासहित ब्राजिल, कम्बोडिया, क्यानडा, चीन, फ्रान्स, जर्मनी, ग्रिस, हङकङ, इन्डोनेसिया, जापान, दक्षिण कोरिया, मलेसिया, नेदरल्यान्ड्स, फिलिपिन्स र पोल्यान्डमा नेपाली छुर्पी निर्यात हुन्छ ।

त्यसबाहेक पोर्चुगल, कतार, सेन्ट हेलेन, सिंगापुर, स्लोभाकिया, दक्षिण अफ्रिका, स्पेन, स्विट्जरल्यान्ड, ताइवान, थाइल्यान्ड, यूएई, बेलायत र भियतनाममा पनि छुर्पी निर्यात भएको विभागको तथ्यांकले देखाउँछ । नेपालबाट निर्यात हुने छुर्पी कुकुर र बिरालाको खानाका रुपमा प्रयोग हुन्छ ।