काठमाडौँ । सिभिल सहकारी ठगीमा मुछिएका इच्छाराज तामाङलाई ३ वर्ष कैद र १ अर्ब ७२ करोड जरिवाना फैसला भएको छ । विशेष अदालतले आइतबार सजाय निर्धारण गर्दै फैसला सुनाएको हो ।
तामाङलाई माघ ७ गते नै कसुर ठहर भए पनि सजाय आइतबार निर्धारण गरिएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरु तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उनीमाथि तीन वर्ष कैद र १ अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ रुपैयाँ जरिवाना फैसला गरेको हो ।
त्यस्तै इच्छाराजकी श्रीमती सिर्जना शाक्यलाई १ अर्ब ३ करोड ५४ लाख ४३ हजार ४८७ रुपैयाँ बिगो तथा १ वर्ष ६ महिना कैद सजाय हुने ठहर गरिएको छ ।
अर्का प्रतिवादी सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठलाई पनि १ वर्ष ६ महिना कैद सजाय गरिएको छ भने २५ करोड ६५ लाख ८६ हजार १२४ रुपैयाँ बिगो भराउने फैसला भएको छ ।
फैसलामा प्रतिवादीहरु इच्छाराज तामाङ र सिर्जना शाक्यले छोरीहरु प्रतीक्षा तामाङ र प्रतिष्ठा तामाङको नाममा लुकाएको सम्पत्ति तथा प्रतिवादी केशवलाल श्रेष्ठकी श्रीमती मीना श्रेष्ठको नाममा राखिएको सम्पत्तिसमेत जफत हुने उल्लेख छ ।
सिभिल सेभिङ एन्ड क्रेडिट को-अपरेटिभका संस्थापक अध्यक्ष तामाङलाई एक हजार ५०२ बचतकर्ताको ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ३९७ रुपैयाँ ८२ पैसा ठगेर विदेश भाग्ने अन्तिम तयारीमा रहेको बेला नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले २०७८ असोज १८ गते पक्राउ गरेको थियो ।
तामाङविरुद्ध २०७८ मंसिर १७ गते सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।