बागलुङ । पन्ध्र वर्षअघि गलकोटका स्थानीयले रकम संकलन गरेर निर्माण गरेको ग्रामीण सडक स्तरोन्नति हुन थालेको छ । गलकोट नगरपालिका–२ को नरेठाँटीबाट वडा नं ६ को मजुवा जोड्ने गरी विसं २०६५ मा ट्रयाक खुलेको यस वर्ष गत मंसिरदेखि स्तारोन्नति थालिएको हो ।
मध्यपहाडी लोकमार्गको रंगेनीबाट तोरीखोला-ठान गाउँ हुँदै मजुवा जोड्ने यो सडक लामो समयसम्म स्तारोन्नति हुन सकेको थिएन । गण्डकी प्रदेश सरकारले तीन वर्षदेखि निरन्तर बजेट विनियोजन गरेपछि स्तारोन्नति तीव्रगतिमा हुन थालेको हो ।
तत्कालीन जिल्ला विकास समितिले विनियोजन गरेको १० लाख र स्थानीयले उठाएर ३५ लाख गरी ४५ लाख रुपैयाँमा सडक खुलाइएको गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले बताए ।
लामो समयसम्म सडक स्तरोन्नति नहुँदा नागरिकले हिउँद-बर्खा यात्रा गर्दा निकै समस्या भोग्नुपरेको भन्दै आर्थिक वर्ष २०७८/७९ देखि गण्डकी प्रदेशले बजेट विनियोजन गर्दै आएपछि सडक बन्दै गएको उनको भनाइ छ ।
हालसम्म प्रदेश सरकारले एक करोड ५० लाख विनियोजन गरेको भन्दै पहिलो वर्ष निर्माण कम्पनीले काम नगर्दा ३० लाखमात्रै खर्च भएको नगर प्रमुख गैरेले बताए ।
गत वर्षको सबै बजेटको काम भएको र यस वर्ष पनि निर्माण कम्पनीले धमाधम काम गरिरहेको उनको भनाइ छ । सडक स्तरोन्नति भएपछि ठाना, तोरीखोला, खसखसलगायतका गाउँका नागरिकलाई पालिका केन्द्र मजुवा र गलकोट हटिया बजारमा पुग्न सहज हुनेछ । नगरपालिकाले यससँगै अन्य ग्रामीण सडकलाई स्तरीय बनाउन थालेको उनको भनाइ छ ।
सडक निर्माणका लागि थ्री ब्रदर्स कन्स्ट्रक्सनले गत मंसिरमा जिम्मा लिएको हो । असार मसान्तसम्म सक्नेगरी सम्झौता भए पनि निर्माण कम्पनीले यही महिनाको अन्तिममा सक्नेगरी काम गरिरहेको जनाएको छ । निर्माण कम्पनीले ४६ लाखमा सडक स्तरोन्नतिको जिम्मा लिएको छ ।