काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न १७ क्षेत्रमा जाने कर्जा वातावरणमैत्री हुनुपर्ने गरी ग्रिन फाइनान्स ट्याक्सोनोमीको मस्यौदा तयार पारेको छ । कार्बन उत्सर्जन हुने क्षेत्रमा कर्जा लगानी बढाउने उद्देश्यले राष्ट्र बैंकले ग्रिन फाइनान्स ट्याक्सोनोमीसम्बन्धी कानुन बनाउन लागेको हो ।
बैंक वित्तीय संस्थाले मिथेन र कार्बन उत्सर्जन गर्ने उद्योगमा लगानी घटाउँदै वातावरण तथा माटो संरक्षण गर्ने र दिगो कृषि गतिविधिमा लगानी बढाउनुपर्ने ट्याक्सोनोमीको मस्यौदामा उल्लेख छ ।
राष्ट्र बैंकले मुख्यत: लगानीमा वातावरणीय पक्षलाई ध्यान दिनुपर्ने नीति लिएको छ । ट्याक्सोनोमीले हरित क्षेत्रमा जाने कर्जालाई प्रोत्साहन गर्ने राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, ट्याक्सोनोमीले बैंक तथा वित्तीय संस्थाका गतिविधि वातावरणमैत्री भए नभएको यकिन गर्न सहयोग गर्ने र वातावरण संरक्षणका क्षेत्रमा लगानी बढाउन प्रेरित गर्ने राष्ट्र बैंकले जनाएको छ ।
विश्व बैंकले दिएको सुझाव र अन्तर्राष्ट्रिय मुद्रा कोषसँगको प्रतिवद्धताअनुसार वातावरणीय जोखिम भएको क्षेत्रमा लगानी निरुत्साहित गर्ने गरी राष्ट्र बैंकले ट्याक्सोनोमी बनाएको जनाएको छ ।
राष्ट्र बैंकले ट्याक्सोनोमीको मस्यौदामा विषयमा सुझाव दिन वाणिज्य बैंक, विकास बैंक, वित्त कम्पनी, माइक्रोफाइनान्स, बिमा कम्पनी, पुँजीबजारमा सूचीकृत कम्पनी र अन्य सरोकारवालालाई आग्रह गरेको छ ।
सरोकारवाला निकायले दिने सुझावको आधारमा आगामी वर्षबाट ट्याक्सोनोमी कार्यान्वयनमा आउने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा ग्रिन फाइनान्स ट्याक्सोनोमी सम्बन्धी नीत बनाउने घोषणा गरेको थियो ।