• Menu

‘बेराजगारी समस्या सम्बोधन गर्न युवा लक्षित कार्यक्रम आवश्यक’

नेपाल प्रफिट

२०८० माघ ८, २१:५४

‘बेराजगारी समस्या सम्बोधन गर्न युवा लक्षित कार्यक्रम आवश्यक’

तेह्रथुम । सहरी विकासमन्त्री सीता गुरुङले बढ्दो बेराजगारीलाई रोक्न युवा लक्षित कार्यक्रम आवश्यक आवश्यक भएको बताएकी छन् ।

तेह्रथुमको म्याङलुङ नगरपालिका नगरसभाको १२औँ अधिवेशनमा मन्त्री गुरुङले भनिन्, ‘पहाडका गाउँगाउँमा सडक, खानेपानी, बिजुली पुगे पनि रोजगारीको खोजीमा युवाहरु पलायन भई गाउँ रित्तिरहेको अवस्थामा युवालाई उद्यमशील बनाउन तीनै तहका सरकारले समन्वय गरेर सोच्नुपर्ने बेला आएको छ ।’

उनले सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर बढाउन सबै राजनीतिक दल, जनप्रतिनिधि, मिलेर काम गर्नुपर्नेमा जोड दिइन् । मन्त्री गुरुङ माघ १० सम्म गृह जिल्ला तेह्रथुमवासीसँग प्रत्यक्ष भेटघाट तथा सहरी विकास मन्त्रालयबाट जिल्लामा बन्न लागेका संरचनाको शिलान्यासमा सहभागी हुने कार्यक्रम रहेको स्वकीय सचिव हेमन्त गुरुङले बताए ।

मन्त्री गुरुङले सोमबार नै सहरी विकास मन्त्रालय, सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटामार्फत म्याङलुङ वडा नम्बर २ मा निर्माण हुन लागेका ‘मिनिमार्केट’को भवन शिलान्यास गरिन् ।

१२ करोड दुई लाख ८७ हजार लागतमा तेज कन्स्ट्रक्सन प्रालिले १८ महिनामा काम सक्ने गरी मिनिमार्केट भवनको ठेक्का सम्झौता गरेको छ । भवन अभावका कारण म्याङलुङ बजार टुँडिखेलमा खुला रुपमा किसानले उत्पादित उत्पादन बिक्री गर्नुपरेको थियो ।

मिनिमार्केटको भवन निर्माणले किसानका समस्या सम्बोधन हुनेमा आफू विश्वस्त भएको स्थानीय प्रेम तुम्बाहाङफेले बताए ।