• Menu

सिद्धबाबामा सुरुङमार्ग निर्माण सुरु, चिनियाँ कम्पनीले थाल्यो ‘ड्रिलिङ’

नेपाल प्रफिट

२०८० माघ ४, २१:०७

सिद्धबाबामा सुरुङमार्ग निर्माण सुरु, चिनियाँ कम्पनीले थाल्यो ‘ड्रिलिङ’

काठमाडौँ । सिद्धार्थ राजमार्गअन्तर्गतको सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माण थालिएको छ । चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङले बिहीबारदेखि सुरुङमार्गको ‘ड्रिलिङ’ थालेको हो ।

सिद्धार्थ राजमार्गअन्तर्गत सबैभन्दा बढी पहिरो जाने क्षेत्रमा सुरूङ निर्माण थालिएको नेपालका लागि चिनियाँ राजदूत चेन सङले जनाएका छन् । राजदूत सङले सामाजिक सञ्जाल एक्समार्फत सिद्धबाबा सुरुङमार्गको ‘ड्रिलिङ’ सुरु भएको भन्दै बधाई दिएका छन् ।

आयोजना सम्पन्न हुँदा पहिरो र ढुंगा खस्ने समस्याका कारण हुने जोखिम कम हुने तथा आर्थिक विकासमा योगदान पुग्ने उनले बताएका छन् ।

सिद्धबाबामा सुरुङमार्ग निर्माणका लागि चिनियाँ कम्पनीले ग्लोबल टेन्डरमार्फत ठेक्का पाएको थियो । सुरूङ मार्गको निर्माण लागत सात अर्ब ३४ करोड रुपैयाँ छ ।

सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडकअन्तर्गत बुटवलको सिद्धबाबादेखि पाल्पाको दोभान चौकीसम्मको करिब ३ किलोमिटर सडक क्षेत्र बाह्रै मास पहिरोको जोखिममा छ । सोही क्षेत्रमा २.५९ किलोमिटर लामो सुरुङमार्ग निर्माण थालिएको हो ।

सिद्धबाबा क्षेत्रमा जाने पहिरोले पटक‑पटक सडक अवरुद्ध हुने गरेको छ । पहिरोका कारण सडकमा लामो समय यात्रु अलपत्र पर्ने गरेका छन् । पहिरोका कारण भइरहेको ठूलो भौतिक र मानवीय क्षति न्यूनीकरण गर्न सुरुङमार्गलाई विकल्पका रुपमा अघि सारिएको हो ।