• Menu

रारामा ६ महिनामा ६ हजार पर्यटक पुगे, वर्षभरमा १६ हजार नाघ्ने अनुमान

नेपाल प्रफिट

२०८० माघ ३, बुधबार २१:२७

रारामा ६ महिनामा ६ हजार पर्यटक पुगे, वर्षभरमा १६ हजार नाघ्ने अनुमान

मुगु । नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्य रारामा ६ महिनामा ६ हजारभन्दा बढी पर्यटक पुगेका छन् । रारा राष्ट्रिय निकुञ्जको कार्यालयले दिएको जानकारीअनुसार  साउन १ देखि पुस मसान्तसम्ममा आन्तरिक पर्यटक ६ हजार ५५७, सार्क तथा विदेशी मुलुकबाट १५६ गरी ६ हजार ७१३ पर्यटकले रारा अवलोकन भ्रमण गरेका छन् ।

निकुञ्जका संरक्षक अधिकृत राजु घिमिरेले चालु आर्थिक वर्षको ६ महिनामा रारा आउने पर्यटकको संख्या वृद्धि हुनुले सुखद लक्षण देखिएको बताए । दसैँ तथा तिहार बिदामा रारामा आन्तरिक पर्यटक बढी आएका उनको भनाइ छ ।

चालु आवको ६ महिनामा पर्यटकसहित अन्य शुल्क, सजाय, जरिवानाबाट निकुञ्जले करिब २२ लाख १८ हजार राजस्व संकलन गरेको छ ।

गत वर्ष ११ हजार आन्तरिक पर्यटकले रारा भ्रमण गरेका थिए भने सार्क मुलुकबाट २६ र अन्य विदेशी १८३ जना पर्यटक आएका थिए । कोरोना महामारीका कारण चार वर्षसम्म शिथिल बनेको पर्यटकीय क्षेत्र यस वर्ष भने पर्यटक आगमन बढ्ने देखिएको छ ।

निकुञ्जले रारा भ्रमणमा आउने आन्तरिक पर्यटकबाट प्रतिव्यक्ति एक सय, सार्क मुलुकका पर्यटकबाट प्रतिव्यक्ति एक हजार पाँच सय र अन्य विदेशी पर्यटकबाट प्रतिव्यक्ति तीन हजार रुपैयाँका दरले प्रवेश शुल्क उठाउने गरेको छ । रारामा हवाई मार्गबाट ७५ प्रतिशत र सडक मार्गबाट २५ प्रतिशत पर्यटक भ्रमण गर्न आउने गरेका छन् ।

पर्यटन व्यवसायीले सडक र हवाईमार्ग भरपर्दो नहुँदा रारामा अझै पर्यटक आगमन उल्लेख्य रूपमा वृद्धि हुन नसकेको गुनासो गरेका छन् । अर्कोतिर रारा क्षेत्रमा पर्यटकलाई बास बस्ने सुविधायुक्त होटल र मनोरञ्जनका साधनसमेत छैनन् । भरपर्दो सडक, सुविधा सम्पन्न होटल नहुँदा पर्यटकले बाटोमा सास्ती खेप्नुपरेको गुनासो सधैँ आउने गरेको व्यवसायी बताउँछन् ।

यस वर्ष जाडो याममा पनि यहाँ आउने पर्यटकको संख्या नघटेको घिमिरेले बताए । विगतमा वर्षभरि आएभन्दा बढी पर्यटक चालु आवको ६ महिनामा आएकाले वर्षको अन्त्यसम्ममा १५‑१६ हजार पर्यटकले रारा अवलोकन गर्ने अनुमान गरिएको छ ।

यस बेला रारा क्षेत्रको तापक्रम रातिमा माइनस आठ र बिहान तथा दिउँसो माइनस पाँचसम्म पुग्ने रारा मौसम केन्द्रका अब्जवर वास्मती रावलले जानकारी दिए । ‘यति चिसो हुँदा पनि पर्यटकको आगमन कम भएको छैन,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्