• Menu

धनकुटामा मत्स्य नर्सरी स्थापना, व्यावसायिक माछा उत्पादनमा सहयोग पुग्ने विश्वास

नेपाल प्रफिट

२०८० माघ ३, बुधबार २०:४८

धनकुटामा मत्स्य नर्सरी स्थापना, व्यावसायिक माछा उत्पादनमा सहयोग पुग्ने विश्वास

धनकुटा । व्यावसायिक माछापालनलाई टेवा दिने उद्देश्यले धनकुटामा मत्स्य नर्सरी केन्द्र स्थापना गरिने भएको छ । कोशी प्रदेशको लगानीमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले माछाको भुरा विकास केन्द्रको स्थापना गर्न लागेको हो ।

केन्द्रको स्थापनाले जिल्लाका किसानलाई माछाका भुरा लिन तराईका जिल्ला जानुपर्ने बाध्यताको अन्त्य हुने कार्यालयका निमित्त प्रमुख लोकनाथ ढुंगानाले जानकारी दिए । ‘नर्सरीमा ह्याचरीबाट माछाका साना भुरा ल्याएर वातावरण अनुकूलनमा वितरण गरिनेछ,’ उनले भने ।

केन्द्र स्थापनाका लागि विज्ञको टोलीले जिल्लाका विभिन्न स्थानको सर्भेक्षण गरिरहेको ढुंगानाले जानकारी दिए । आधिकारिक तथ्यांक नभए पनि धनकुटामा खपत हुने ९० प्रतिशतभन्दा बढी माछा तराई र भारतबाट आपूर्ति हुने गरेको छ ।

त्यसका कारण जिल्लामा प्रशस्त माछापालनको सम्भावना रहेकाले केन्द्रको स्थापनापछि व्यावसायिक माछा उत्पादनमा महत्वपूर्ण सहयोग पुग्ने ढुंगानाको भनाइ छ ।

प्रदेश सरकारको पाँच लाखको लागतमा भुरा नर्सरी स्थापनाका लागि आवेदन खुला गरिएको केन्द्रका अधिकृत पुष्प दाहालले जानकारी दिए । माछाको भुरा उत्पादन केन्द्रबाट जिल्लाभरिका माछापालक किसान लाभान्वित हुनेछन् । हाल जिल्लामा तीन कार्प र एउटा रेन्बो ट्राउट माछा फार्म छन् ।