• Menu

पहिलो त्रैमासमा नेपालको आर्थिक वृद्धिदर ३.२ प्रतिशत

नेपाल प्रफिट

२०८० पुस २६, २१:४५

पहिलो त्रैमासमा नेपालको आर्थिक वृद्धिदर ३.२ प्रतिशत

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालको आर्थिक वृद्धिदर ३.२ प्रतिशत देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले आधारभूत मूल्यमा पहिलो तीन महिनाको आर्थिक वृद्धिदर ३.२ प्रतिशत अनुमान गरेको हो ।

गत वर्षको पहिलो तीन महिनामा पनि नेपालको आर्थिक वृद्धिदर ३.२ प्रतिशत नै थियो । सरकारले चालु आर्थिक वर्षमा औसत ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य राखेको छ ।

समीक्षा अवधिमा चारवटा क्षेत्रको वृद्धिदर १० प्रतिशतमाथि देखिएको छ भने एउटा क्षेत्रको ऋणात्मक देखिएको छ ।

खानी तथा उत्खनन क्षेत्रको वृद्धिदर सबभन्दा बढी १५.८ प्रतिशत हुने अनुमान गरिएको छ । गत वर्षभन्दा यो क्षेत्रको वृद्धिदर उच्चदरमा बढेको हो । गत वर्षको पहिलो तीन महिनामा यो क्षेत्र १.९ प्रतिशतले ऋणात्मक थियो ।

खानी तथा उत्खनन क्षेत्रको वृद्धिदर सबभन्दा बढी १५.८ प्रतिशत हुने अनुमान गरिएको छ । गत वर्षभन्दा यो क्षेत्रको वृद्धिदर उच्चदरमा बढेको हो ।

त्यस्तै वित्तीय तथा बिमा क्षेत्रको वृद्धिदर १३.२ प्रतिशत छ । निक्षेप तथा कर्जामा भएको वृद्धि, अन्तरबैंक ब्याजदरमा भएको परिवर्तन, बढ्दो बिमा प्रिमियम आदिले वित्तीय तथा बिमा क्षेत्रको वृद्धिदरमा सकारात्मक प्रभाव पारेको कार्यालयले जनाएको छ ।

यो क्षेत्र पनि गत वर्ष पहिलो तीन महिनाको तुलनामा बढेको हो । गत वर्ष यो क्षेत्रको वृद्धिदर ९.९ प्रतिशत थियो ।

त्यस्तै गत वर्षको पहिलो त्रैमासमा ९.६ प्रतिशत रहेको निर्माण क्षेत्रको वृद्धिदर चालु वर्षको पहिलो त्रैमासमा ११.४ प्रतिशत हुने अनुमान गरिएको छ ।

आवास तथा भोजन सेवा क्षेत्रको वृद्धिदरमा भने भारी गिरावट आउने प्रक्षेपण तथ्यांक कार्यालयले गरेको छ । गत वर्षको पहिलो त्रैमासमा ५६ प्रतिशत रहेको यो क्षेत्रको वृद्धिदर चालु आवको पहिलो तीन महिनामा ११.७ प्रतिशतमात्र हुने अनुमान तथ्यांक कार्यालयको छ ।

थोक र खुद्रा व्यापार, मोटरबाहन र मोटरसाइकल मर्मत क्षेत्रको वृद्धिदर भने ऋणात्मक छ । पहिलो त्रैमासमा यो क्षेत्रको वृद्धिदर १.२ प्रतिशतले ऋणात्मक हुने अनुमान गरिएको हो ।

थोक र खुद्रा व्यापार, मोटरबाहन र मोटरसाइकल मर्मत क्षेत्रको वृद्धिदर भने ऋणात्मक छ । पहिलो त्रैमासमा यो क्षेत्रको वृद्धिदर १.२ प्रतिशतले ऋणात्मक हुने अनुमान गरिएको हो ।

समग्र आयातमा सामान्य वृद्धि भए पनि व्यापारजन्य वस्तुमा आएको कमीका कारण यो क्षेत्र ऋणात्मक देखिएको हो । गत वर्षको पहिलो त्रैमासमा पनि यो क्षेत्र ०.१ प्रतिशतले ऋणात्मक नै थियो ।

अर्थतन्त्रमा सबभन्दा बढी योगदान रहेको कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धिदर १.४ प्रतिशत हुने प्रारम्भिक अनुमान छ । यो क्षेत्र पनि गत वर्षभन्दा घटेको हो । गत वर्ष यो क्षेत्रको वृद्धिदर २.९ प्रतिशत थियो ।

राष्ट्रिय तथ्यांक कार्यालयले १८ क्षेत्रमा विभाजन गरेर कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मापन गर्छ ।