• Menu

विपन्न युवायुवतीको सामूहिक विवाह गरिदिँदै मनरा शिशवा नगरपालिका

नेपाल प्रफिट

२०८० मंसिर २१, २१:३२

विपन्न युवायुवतीको सामूहिक विवाह गरिदिँदै मनरा शिशवा नगरपालिका

महोत्तरी । महोत्तरीको मनरा शिशवा नगरपालिकाले आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारका छोराछोरीको सामूहिक विवाह गरिदिने भएको छ ।

नगरभित्र अधिकांश नागरिकको आर्थिक अवस्था कमजोर भएकाले उनीहरुका छोराछोरीको निःशुल्क सामूहिक विवाह गरिदिने पालिका कार्यालयले जनाएको हो ।

नगर प्रमुख मोहन पाण्डेयले नगरभित्र गरिब तथा विपन्न परिवारको बाहुल्य बढी रहेकाले उनीहरुका छोराछोरीको विवाह लाग्ने खर्च नगरपालिकाले दिने गरी ‘सामूहिक विवाह’को योजना ल्याइएको बताए ।

सरकारले विवाह गर्न मान्यता दिएको उमेर (२० वर्ष) पुगेका र आर्थिक अवस्था कमजोर भएका परिवारका छोराछोरीलाई नगरपालिकाले निःशुल्क रुपमा विवाह गरिदिन उनको भनाइ छ ।

मंसिर महिनाभित्र नगरपालिकाको प्रत्येक १० वटै वडामा विवाह गर्न इच्छुक परिवारलाई वडा कार्यालय वा नगरपालिकाको सामाजिक विकास शाखामा निवेदन दर्ता गराउन आग्रह गरेको छ ।

निवेदन दर्ता भइसकेपछि पालिकाले विवाहको मिति तोकेर एकैचोटी एउटै मण्डपमा सबै दुलाहादुलहीको विवाह गरिदिने कार्यक्रम रहेको उनले जानकारी दिए ।

विवाहमा नगरपालिकाले सबै दुलाहादुलही जोडीलाई एक‑एक जोड लुगा, दुलहीलाई चुरा, पोते, सिंगारका आवश्यक सामान र जन्तीलाई भोजभतेर तथा बासको व्यवस्था मिलाउनेछ ।