चितवन । भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गर्दै साइटबोट उपकरण उपलब्ध भएको छ । चीनको सिआन सिटीका प्रतिनिधिले बिहीबार महानगरपालिका आएर पर्यटकीय पूर्वाधार साइटबोट उपलब्ध गराएका हुन् ।
साइटबोट भनेको एआई प्रविधिजडित तस्बिर र दृश्य कैद गर्ने उच्चस्तरीय क्यामेरा हो । यो उपकरणलाई चीनको सिआनबाट आएको टोलीले भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई हस्तान्तरण गरेको छ ।
उपकरणले १० किलोमिटर टाढाका दृश्यलाई सजिलै कैद गर्न सक्छ । एआई उपकरणको सहयोगले कुनै पनि दृश्यको बारेमा सजिलै जानकारी दिन सक्ने निर्माण कम्पनीले जनाएको छ । यसले आँखाले नदेख्ने दृश्यलाई पनि सजिलै कैद गर्न सक्छ ।
चेम्बर अफ कमर्सका सेक्रेटरी डा. उ जिन र कग्निसर कम्पनीले भरतपुरको उपकरण राख्न सकिने पर्यटकीय स्थानमा सर्वे गर्नेछन् । बाँकी स्थानमा आवश्यक उपकरण ल्याउने जनाइएको छ ।
भ्रमण वर्षमा आउने पर्यटकले यो उपकरणको प्रयोगबाट लाभ लिन सक्ने छन् । कम्पनीका अनुसार भरतपुरको पर्यटकीय गतिविधि यो उपकरणको सहयोगबाट विश्वभर प्रसारप्रसार गर्न सकिन्छ । भरतपुरमा प्रमुख ७ पर्यटकीय गन्तव्यसहित ३५ भन्दा बढी पर्यटकीय स्थल छन् ।