काठमाडौं । हिमालयन बैंकले जाजरकोट भूकम्पप्रभावितलाई २१ लाख रुपैयाँबराबरको राहत सामग्री सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जाजरकोट र रुकुम पश्चिमका भूकम्पप्रभावितलाई २१ लाख रुपैयाँको राहत सामग्री खरिद गरी पठाएको हो ।
कात्तिक १७ गते राति ११:४७ बजे जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निच्युडको भूकम्पले घर भत्किँदा जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति भएको छ ।
भूकम्पले ठूलो मानवीय तथा भौतिक संरचनामा क्षति पुर्याएको जाजरकोट र रुकुम पश्चिमका बासिन्दालाई राहत होस् भन्ने उद्देश्यले दाल, चामल, नुन र तेल खरिद गरी जिल्ला प्रसाशन कार्यालय जाजरकोट र जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमलाई हस्तान्तरण गरेको बैंकले जनाएको छ ।