• Menu

ग्लोबल आइएमई बैंकको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्विरोध निर्वाचित

नेपाल प्रफिट

२०८० मंसिर २८, बिहीबार २१:५८

ग्लोबल आइएमई बैंकको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्विरोध निर्वाचित

काठमाडौं । ग्लोबल आइएमई बैंकको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्विरोध निर्वाचित भएका छन् । बिहीबार सम्पन्न बैंकको १७औँ वार्षिक साधारणसभाबाट सर्वसम्मत रुपमा निर्वाचित ६ सदस्यीय सञ्चालक समितिको पहिलो बैठकले ढकाललाई पुनः अध्यक्षमा निर्वाचित गरेको हो ।

ढकाल नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष हुन् । साधारण सभाबाट संस्थापक सेयरधनी मध्येबाट ढकाल, रामबहादुर भण्डारी र राधेश पन्त तथा सर्वसाधारण सेयरधनी तर्फबाट नारायणप्रसाद पौडेल, मदनलाल जोशी र कृष्णप्रसाद शर्मा सञ्चालक समितिमा निर्वाचित भएका छन् ।

यसअघि, साधारणसभाले आर्थिक वर्ष २०७९/०८० को कुल नाफाबाट बैंकले सेयरधनीलाई प्रस्ताव गरेको ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनस सेयर गरी ९ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

साधारणसभाले सञ्चालक समितिको तर्फबाट बैंकका अध्यक्ष ढकालले प्रस्तुत गेको वार्षिक प्रतिवेदन तथा एकीकृत वित्तीय विवरण पारित गर्नुका साथै आर्थिक वर्ष २०७९/८० को कुल नाफाबाट बैंकले आफ्ना सेयर धनीलाई प्रस्ताव गरेको बोनस सेयर तथा नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

बैंकले आर्थिक वर्ष २०७९/८० मा सञ्चालन नाफा १२ अर्ब ६९ करोड रुपैयाँ र करपछिको मुनाफा ६ अर्ब ६९ करोड रुपैयाँ आर्जन गरेको थियो । प्रस्तावित बोनस सेयर वितरणपश्चात बैंकको चुक्ता पुँजी ३६ अर्ब १२ करोड रुपैयाँ ८७ लाख पुग्नेछ ।

साधारणसभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै बैंकका अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंक नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरुको परिपालना गर्दै सेयरधनीलाई उचित लाभांश प्रदान गर्न कटिबद्ध रहेको बताए ।

आर्थिक वर्ष २०७९/८० मा बैंकको खुद व्याज आम्दानीतर्फ अघिल्लो वर्षभन्दा ६ अर्ब ८१ करोड रुपैयाँले वृद्धि भएको छ । बैंकको खुद नाफामा अघिल्लो वर्षको तुलनामा ३४.९९ प्रतिशतले वृद्धि भई ६ अर्ब ६९ करोड रुपैयाँ कायम भएको छ ।

बैंकले सोही अवधिमा ४ खर्ब ३९ अर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलन गर्नुका साथै ३ खर्ब ७४ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको छ ।

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले देशका ७७ वटै जिल्लामा ३५५ शाखा सञ्जाल तथा ३ अन्तर्राष्ट्रिय सम्पर्क कार्यालयसहित ११०० भन्दा बढी सेवा केन्द्रबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

बैंकमा करिब ४ हजार कर्मचारी कार्यरत छन् । बैंकले करिब ४५ लाख ग्राहकलाई प्रत्यक्ष सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्