• Menu

पाटा ट्राभल मार्ट २०२४ मा नेपालको उत्कृष्ट प्रदर्शन

नेपाल प्रफिट

२०८१ भदौ १४, शुक्रबार १५:४०

पाटा ट्राभल मार्ट २०२४ मा नेपालको उत्कृष्ट प्रदर्शन

काठमाडौं । नेपालले थाइल्यान्डको बैंककमा आयोजित पाटा ट्राभल मार्ट २०२४ मा प्रतिष्ठित पुरस्कारहरू जितेको छ । नेपालले मार्टमा १८ पर्यटन सम्बद्ध निजी क्षेत्रका पाटा नेपाल सदस्य कम्पनीसहित सशक्त सहभागिता जनाउँदै नेपालको पर्यटन प्रवर्धन सम्पन्न गरेको छ ।

विश्वभरका सबभन्दा सक्रिय पाटा च्याप्टरमध्ये एक पाटा नेपाल च्याप्टरले वर्ष २०२३-२४ मा पाटाको उद्देश्य र भावनाअनुरुप पर्यटन क्षेत्रको प्रवर्धन, बजारीकरण र दिगो विकासका लागि सम्पन्न गरेका उत्कृष्ट गतिविधिको सम्मानस्वरुप ‘पाटा अवार्ड अफ एक्सिलेन्स’ प्राप्त गरेको छ ।

पाटा नेपाल च्याप्टरका अध्यक्ष खेम लकाई, निवर्तमान अध्यक्ष विभूति चन्द ठाकुर, महासचिव नरेन्द्र भट्ट र प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालले २०२४ अगस्ट २९ मा द अबान्डन्ड म्यान्सन बैंकक (द कोच होटल) मा आयोजित पाटा पावर अफ नेटवर्किङ कार्यक्रमको क्रममा पुरस्कार ग्रहण गरेका छन् ।

‘कारण महत्त्वपूर्ण होइन कि नतिजा महत्त्वपूर्ण हुन्छ,’ सर्वोत्कृष्ट च्याप्टरका रुपमा पुरस्कार प्राप्त गरेपछि अध्यक्ष लकाईले भने, ‘पाटा नेपाल च्याप्टरले चुनौतीपूर्ण समयमा गरेका कामले विश्वभर मान्यता पाएको छ, हामी नेपाल टिमको रूपमा गौरवान्वित भएका र्छौं र हामी हाम्रो देशको पर्यटनमार्फत साझा समृद्धिमा विश्वास गर्छौं ।’

त्यसैगरी अगस्ट २८ मा आयोजित पाटा गोल्ड अवार्ड प्रस्तुति समारोहमा नेपाल पर्यटन बोर्डको एसटीएलआर परियोजनाले समुदायमा आधारित पर्यटन विधामा पाटा गोल्ड अवार्ड र इन्टरपिड डीएमसी नेपाललाई ‘सस्टेनाबिलिटी एन्ड सोसियल रेस्पोन्सिबिलिटी’ विधामा ग्रान्ड टाइटल विजेता अवार्ड प्रदान गरिएको छ ।

पाटा ट्राभल मार्टमा नेपाल पेभिलियनअन्तर्गत सहभागी १८ पर्यटन सेवाप्रदायक कम्पनीहरूमा हेरिटेज टुर्स एन्ड ट्राभल्स, लेमन ट्रि प्रिमियर, नेपाल एयरलाइन्स कर्पोरेसन, भृकुटी हिमालयन ट्रेक्स, डेस्टिनागो टुर्स एन्ड ट्राभल्स, होटल हिमालय, एक्सपेडिसन हिमालयलगायत छन् ।

त्यस्तै होटल रत्नसंभवा, समुदाय होमस्टे नेटवर्क, लक्जरी डीएमसी ट्राभल्स, हिमालयन होलिडेज ट्रेकिङ, बुद्धिस्ट सर्किट्स डट कम, सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी, केजीएच ग्रुप अफ होटल्स, युरो एसिया टुर्स एन्ड ट्राभल्स, माउन्टेन टाइगर नेपाल, भिजिट हिमालय ट्रेक्स, अफ द वाल ट्रेकिङ र नेपाल योगा होम सहभागी थिए ।

पाटाका प्रमुख कार्यकारी अधिकृत नुर अहमद हमिदले पाटा ट्राभल मार्टले एसिया प्यासिफिक पर्यटनको भविष्यप्रतिको प्रतिबद्धतालाई यस क्षेत्र र बाहिरका उच्च गुणस्तरका खरिदकर्ता र विक्रेताका लागि प्लेटफर्मको रूपमा सेवा प्रदान गर्ने बताए ।

‘यसले दिगो पर्यटन विकासलाई प्रवर्धन गर्ने संस्थाको लक्ष्यलाई झल्काउँछ र बैंककमा यस वर्षको कार्यक्रमको आयोजनाले एसिया प्यासिफिक क्षेत्रभित्र नवीनता र सहयोगलाई बढावा दिएको छ,’ उनले भने ।

उनले थाई पर्यटन संगठनहरूसँग पाटाको स्थायी साझेदारीलाई जोड दिएको र एसिया प्यासिफिकमा एक अग्रणी माइस गन्तव्यको रूपमा थाइल्यान्डको प्रतिष्ठा कायम राख्ने साझा प्रतिबद्धतालाई बलियो बनाएको उनले बताए ।

पाटा नेपालका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालले पाटा ट्राभल मार्टमा नेपालको उत्साहजनक सहभागिताले अन्तर्राष्ट्रिय पर्यटन सहकार्यलाई बढावा दिन र विश्वबजारमा यसको अतुलनीय आकर्षण र पर्यटन उपजहरुको प्रवर्धन गर्न सहयोग पुगेको धारणा राखे ।

प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) द्वारा आयोजित पाटा ट्राभल मार्टमा ४५ गन्तव्यबाट ९ सयभन्दा बढी प्रतिनिधिले सहभागिता जनाएका थिए । विभिन्न २४ गन्तव्यका १६८ विक्रेता संस्थाबाट २६६ प्रतिनिधिका साथै ३१ स्रोत बजारका १७३ संस्थाबाट १९१ क्रेता प्रतिनिधि सहभागी थिए ।

पाटाको मुख्यालय थाइल्यान्ड स्थानान्तरणको २५औं वर्षको विशेष अवसरमा मार्टको ४७औं संस्करण बैंककस्थित ‘क्विन सिरिकिट नेसनल कन्भेन्सन सेन्टर’मा आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्