धनुषा । जनकपुरधाम-ढल्केवर ६ लेन व्यापारिक सडकअन्तर्गत धनुषाको क्षीरेश्वरनाथ नगरपालिका-५ स्थित महेन्द्रनगर बजारमा निर्माणाधीन दुई वटा आकाशे पुलको निर्माण सम्पन्न भएको छ । पुलमा रङरोगन तथा सौन्दर्यीकरणको काम भइरहेको र चाँडै सर्वसाधारणका लागि सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।
मधेस प्रदेशमा पहिलो पटक निर्माण गरिएका यी पुल पैदल यात्रुको आवागमन सुरक्षित र सहज बनाउने उद्देश्यले निर्माण गरिएको सडक डिभिजन कार्यालय मुजेलिया, जनकपुरधामले जनाएको छ ।
सडकमा पैदल यात्रुको चाप बढी हुने महिला विकास चोक र सखुवा चोकमा दुई तथा लक्ष्मीनिया गाउँपालिकामा एउटा गरी तीन वटा आकाशे पुल निर्माणका लागि करिब १० करोड ५० लाख लागत अनुमान गरिएको थियो । तीमध्ये महेन्द्रनगरका दुई पुल निर्माण सम्पन्न भएको सडक डिभिजन कार्यालयका प्रमुख डिभिजनल इन्जिनियर दरोगाप्रसाद साहले जानकारी दिए ।
उनका अनुसार लक्ष्मीनिया गाउँपालिकामा निर्माणाधीन तेस्रो पुलको काम पनि तीव्र गतिमा भइरहेको छ । उक्त पुल मंसिर मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
निर्माण लागतअनुसार महिला विकास चोकको पुलका लागि ३ करोड ३५ लाख, सखुवा चोकको पुलका लागि तीन करोड ५७ लाख र लक्ष्मीनियाको पुलका लागि तीन करोड ४२ लाख विनियोजन गरिएको छ । तीनवटै पुलको लागत मूल्य अभिवृद्धि कर (भ्याट) सहितको हो । पुल निर्माणको जिम्मा दुई वटा निर्माण कम्पनीले पाएका छन् ।
सडक डिभिजन कार्यालयका साइट इन्जिनियर उज्ज्वल झाका अनुसार प्रत्येक पुलको उचाइ ५.६ मिटर, लम्बाइ २९.४ मिटर र चौडाइ ३ मिटर छ । पुल सञ्चालनमा आएपछि पैदल यात्रुले व्यस्त सडकमा सवारीसाधनको जोखिम मोलेर सडक पार गर्नुपर्ने अवस्था अन्त्य हुने उनले बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर शाहीले पुल सञ्चालनमा आएपछि सडक दुर्घटनाको जोखिम घट्ने बताए । पूर्व-पश्चिम राजमार्ग हुँदै जनकपुरधाम प्रवेश गर्ने प्रमुख सडक भएकाले यस क्षेत्रमा दैनिक सयौँ पैदल यात्रुको आवागमन हुने गरेको उनले जानकारी दिए ।
स्थानीय शम्भुप्रसाद यादवले महिला विकास चोक र सखुवा चोक आसपास हाटबजार, शैक्षिक संस्था तथा बस्ती रहेकाले यसअघि सडक वारपार गर्न जोखिम हुने गरेको बताए । क्षीरेश्वरनाथ बहुमुखी क्याम्पसका प्राचार्यसमेत रहेका उनले पुल सञ्चालनमा आएपछि बालबालिका, विद्यार्थी र ज्येष्ठ नागरिकलाई आवतजावतमा सहज हुने विश्वास व्यक्त गरे । रासस