• Menu

पोखरा-दुबई उडान : एक महिनामा ३० फ्लाइट, ६ हजार ३ सय यात्रुलाई सेवा

नेपाल प्रफिट

२०८३ कात्तिक ७, शनिबार ०६:२५

पोखरा-दुबई उडान : एक महिनामा ३० फ्लाइट, ६ हजार ३ सय यात्रुलाई सेवा

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको फ्लाइ दुबईले शुक्रबार एक महिना पूरा गरेको छ । फ्लाइ दुबईले असोज ७ देखि उक्त रुटमा नियमित उडान सुरु गरेको हो ।

एक महिनामा ३० वटा उडान सञ्चालन भएकोमा दुबई-पोखरा चार हजार ५२१ र पोखरा-दुबई एक हजार ८४१ गरी ६ हजार ३६२ यात्रुले सेवा लिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए । उनका अनुसार सुरुवातको पहिलो महिनाको अन्तर्राष्ट्रिय उडानलाई उत्साहजनक रुपमा लिइएको छ ।

नेपालीहरुका ठूला चाड दसैं र तिहारका कारण दुबईबाट आउने यात्रुको संख्या वृद्धि भइरहेको छ भने यहाँबाट जानेहरु समेत बढिरहेका छन् । सबैको साथ र प्रयासबाट पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित र दीर्घकालीन हुने विश्वास गर्न सकिन्छ । ‘यसमा सरकारी तथा निजी क्षेत्रले मिलेर प्रवर्धनात्मक काम गर्नुपर्छ,’ महाप्रबन्धक निरौलाले भने ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नियमित उडानको पहिलो महिनाको उपलब्धिलाई उत्साहजनक बताए । उनले पोखराबाट दुबई जाने यात्रुको संख्या बढाउनुपर्नेमा जोड दिए । पोखरा–दुबई उडानलाई निरन्तरता दिन सन् २०२७ को अक्टोबरसम्म टिकट बुकिङ खुला गरिएकोमा फ्लाई दुबईको व्यवस्थापन टोलीलाई उनले धन्यवाद दिए ।

‘दुबईबाट पोखरा आउने यात्रुको संख्या राम्रो रहे पनि पोखराबाट दुबई जाने यात्रुको संख्या बढाउन सके उडानलाई थप प्रभावकारी र दिगो बनाउन सकिन्छ । पोखरा तथा गण्डकी प्रदेशका नागरिक, पर्यटन व्यवसायी, ट्राभल कम्पनी, होटल व्यवसायी, उद्योगी तथा निजी क्षेत्रलाई सम्भव भएसम्म पोखराबाटै अन्तर्राष्ट्रिय यात्रा गर्न हामीले आग्रह गरेका छौँ,’ उनले भने ।

व्यक्तिगत, पारिवारिक, व्यावसायिक तथा संस्थागत भ्रमणका कार्यक्रम पोखराबाटै सुरु गर्न र अन्तर्राष्ट्रिय गन्तव्यका लागि पोखराबाट भ्रमण प्याकेज सञ्चालन गर्न पनि उनले अनुरोध गरेका छन् ।

फ्लाइ दुबई र यसको साझेदार वायुसेवा कम्पनी एमिरेट्समार्फत एउटै टिकटमा विश्वका ३ सयभन्दा बढी गन्तव्यमा यात्रा गर्न सकिने सुविधा छ । नगर प्रमुख आचार्यले दुबईलाई मात्र नभई त्यहाँबाट जोडिने विश्वका विभिन्न सहरसम्मको यात्राका लागि पनि पोखरालाई प्रस्थान बिन्दु बनाउन आग्रह गरे ।

लामो समयपछि पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएकाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उपयोग बढाउनुका साथै पर्यटन, व्यापार, रोजगारी र समग्र क्षेत्रीय आर्थिक विकासमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ ।

विसं २०७९ पुस १७ गते उद्घाटन गरिएको पोखरा विमानस्थलबाट लामो समयसम्म अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन । कहिलेकाहिँ अन्तर्राष्ट्रिय चार्टर्ड उडान हुनुबाहेक यो विमानस्थल आन्तरिक उडानमा सीमित बनेको थियो । फ्लाइ दुबईको उडानपछि अन्य विमान कम्पनीसमेत पोखरामा उडान भर्न आकर्षित भएका छन् ।