एजेन्सी । रुस र युक्रेनले एक-अर्काका ऊर्जा केन्द्रमा आक्रमण तीव्र पारेका छन् । दुई देशबीच आक्रमण चर्किएका बेला युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र ज्वाइँ जारेड कुशनरसँग वार्ता गरेका छन् । ट्रम्पले भने जेलेन्स्कीमाथि रुससँगको युद्ध अन्त्य गर्न नचाहेको आरोप लगाएका छन् ।
रुसी आक्रमणका कारण युक्रेनका विभिन्न क्षेत्रमा दसौं हजार मानिस विद्युत् सेवाबाट वञ्चित भएका छन् भने तीन जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन् । जवाफमा युक्रेनले रुसको सेन्ट पिटर्सबर्गमा युद्ध सुरु भएयताकै ठूलो ड्रोन आक्रमण गरेको जनाएको छ । आक्रमणबाट तेल प्रशोधन केन्द्रसहितका संरचनामा आगलागी भएको र एक जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएको रुसी अधिकारीहरूले बताएका छन् ।
ट्रम्पले रुसमाथि नयाँ प्रतिबन्ध लगाउन रोकेको र मस्कोसँग डिजेलसम्बन्धी सम्झौता गरेपछि अमेरिका र युक्रेनबीच मतभेद बढेको छ । ट्रम्पले सामाजिक सञ्जालमा शान्ति वार्तामा ठूलो प्रगति भइरहेको दाबी गर्दै जेलेन्स्की युद्ध अन्त्य गर्न इच्छुक नरहेको आरोप लगाएका थिए । युक्रेनले रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण गर्दा विश्व बजारमा डिजेल आपूर्तिमा असर परेको उनले बताए ।
अमेरिकी दूतहरूसँगको वार्तापछि जेलेन्स्कीले युद्ध अन्त्य गर्न युक्रेन रचनात्मक तथा इमानदार ढंगले अघि बढ्न तयार रहेको बताएका छन् । उनले अमेरिकी र युरोपेली साझेदारबाट पनि त्यस्तै व्यवहारको अपेक्षा गरेका छन् । वार्तामा रुसी क्षेप्यास्त्रबाट रक्षा गर्न आवश्यक अमेरिकी प्याट्रियट वायु रक्षा प्रणालीको आपूर्तिबारे पनि छलफल भएको बताइएको छ ।
जेलेन्स्कीले अमेरिकाले औपचारिक रूपमा रुसलाई समर्थन गरेमा त्यो ऐतिहासिक गल्ती हुने बताउँदै ट्रम्पले आफ्नो निर्णय परिवर्तन गर्ने आशा गरेका छन् । अमेरिकाले केही समय रोकिएको गुप्तचर सूचना आदानप्रदान पुनः सुरु गरेकोमा भने उनले धन्यवाद दिए ।
जेलेन्स्कीका अनुसार ट्रम्पले प्रस्ताव गरेको ‘ऊर्जा युद्धविराम’ रुसले ७६ पटक उल्लंघन गरेको छ । जाडो सुरु हुनुअघि युक्रेनी नागरिकलाई ताप र विद्युत् सेवाबाट वञ्चित गर्ने उद्देश्यले रुसले आक्रमण गरिरहेको उनको आरोप छ ।
रुसको लेनिनग्राद क्षेत्रका प्रमुख अलेक्जान्डर ड्रोज्डेन्कोले हवाई प्रतिरक्षा प्रणालीले १४४ युक्रेनी ड्रोन खसालेको बताएका छन् । रुसी सरकारी सञ्चारमाध्यमले यसलाई युद्ध सुरु भएयताकै ठूलो आक्रमण भएको बताएका छन् ।
सेन्ट पिटर्सबर्गमा तेल टर्मिनल, तेल भण्डारण केन्द्र र औद्योगिक गोदाममा लागेको आगो निभाइएको थिएन भने सामाजिक सञ्जाल भिकोन्टाक्टे र खुद्रा व्यापार कम्पनी ओजनले पनि आफ्ना संरचनामा असर परेको जनाएका थिए ।
क्रेमलिनले युक्रेनी आक्रमणले रुसको युद्ध लक्ष्य परिवर्तन नहुने बताएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनको बाँकी भूभाग कब्जा गर्ने लक्ष्य रहेको बताइरहेका छन् ।
रुसले युक्रेनी सहरमा दैनिक ड्रोन र क्षेप्यास्त्र प्रहार गर्दै आएको छ भने किएभले आफ्नो आक्रमणलाई रुसी हमलाको जवाफ भन्दै आएको छ । युक्रेनी आक्रमणले यस वर्षको सुरुतिर रुसमा देशव्यापी इन्धन अभावसमेत निम्त्याएको थियो ।