• Menu

आरुघाटमा दुई दिनमै तयार भयो ‘बेलिब्रिज’

नेपाल प्रफिट

२०८३ कात्तिक २, सोमबार १८:२६

आरुघाटमा दुई दिनमै तयार भयो ‘बेलिब्रिज’

काठमाडौँ । आरुघाटमा दुई दिनमै ‘बेलिब्रिज’ तयार भएको छ । नेपाली सेनाले धादिङ र गोरखा जोड्ने आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान कार्य दुई दिनमा सम्पन्न गरी सडक आयोजनालाई हस्तान्तरण गरेको हो ।

सेनाले जडान सम्पन्न गरेपछि आज गोरखा सडक आयोजनालाई उक्त बेलिब्रिज हस्तान्तरण गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

असोज २५ गते बूढीगण्डकी नदीमा आएको बाढीले पक्की पुलको गोरखातर्फको खण्ड बगाएपछि सेनाले असोज ३१ देखि ‘बेलिब्रिज’ जडान थालेको थियो । दुई दिनमा उक्त खण्डमा बेलिब्रिज जडान गरी यातायात सञ्चालनलाई सहज बनाइएको हो ।

२७.४३ मिटर लम्बाइ र ४.२ मिटर चौडाइ भएको उक्त बेलिब्रिज जडान भएसँगै धादिङ र गोरखा आसपासका क्षेत्रका नागरिकलाई आवतजावत गर्न सहज भएको छ । पुल सञ्चालनमा आएसँगै बाढी प्रभावित क्षेत्रमा आवश्यक राहत तथा अत्यावश्यक सामग्रीको ढुवानीमा सहजता हुने सेनाको विश्वास छ ।