• Menu

दसैँ गाउँमै रमाइलो

नेपाल प्रफिट

२०८३ कात्तिक २, सोमबार ०७:११

दसैँ गाउँमै रमाइलो

कर्णाली । बडादसैँ नजिकिँदै गर्दा देश–विदेशबाट घर फर्किनेहरुको यतिबेला घुँइचो छ । हवाई होस् या स्थलमार्ग दुवैतिर यात्रुलाई टिकट लिएर आफ्नो गन्तव्य पुग्न भ्याई नभ्याई छ । यद्यपि टिकट पाउन पनि त्यत्तिकै सकस छ । पैसा भए पनि भने जस्तो सहज यात्रा भने ती यात्रुले गर्न पाएका छैनन् ।

यात्रा निकै कष्टकर र महँगो पनि छ तर दसैंमा परिवार, आफन्त तथा इष्टमित्रसँग भेट हुने आशाले उनीहरुलाई सहनुको विकल्प हुँदैन । कर्णाली प्रदेशका हिमाली जिल्लाका दुर्गम गाउँमा पुग्नेहरुको यात्रा अझ बढी जटिल र पट्यार लाग्दो बन्ने गर्छ । तथापि, घर पुग्ने र दसैँ मनाउने व्यग्र चाहनाले पीडादायी यात्राको प्रतिकूल अवस्थालाई उनीहरुले अनुकूल बनाउँदै लगेको पाइन्छ ।

अमेरिका, युरोपभन्दा कामका लागि खाडी मुलुक तथा कालापहाड (भारत)बाट दसैँमा घर फर्कनेहरु परिवारसँग हुने मिलनको आशाले खर्चिलो यात्रा र बाटोमा हुने दुःखलाई भुल्दै दिनहुँ यात्रामा हिँडिरहेका छन् ।

वषौंसम्म भेट्न नपाएका परिवारका सदस्यहरु भेट्नका लागि धेरै सपना बुनेका आफन्त तथा संगी संगिनीहरुका लागि दसैँ तथा तिहार वास्तवमै सामाजिक एकता, आपसी सद्भाव र प्रेमिल भाव अभिव्यक्त गर्ने संगम बनिदिएर होला, सहर छोडेर गाउँ हानिनेहरु खुसी मुद्रामा देखिन्छन् ।

भारतको बैंगलोरबाट घर फर्किएका तिला गाउँपालिका ४ जुम्लाका नमराज शाहीले सहरको कोलाहलबाट गाउँ फर्कंदा शान्तिभूमि पुगेको अनुभूति भएको बताए । दसैँ मनाउन उनी गाउँ पुगिसकेका छन् ।

‘गाउँमा घरहरु छुट्टा छुट्टै छन् तर सोच, मन र मानवीय भावनाहरु अति नजिक छन् । बिडम्बना, सहरमा घरहरु जोडिएका भए पनि मानवीय भावना र आपसी सद्भावको खडेरी छ । मानव सम्बन्धमा दरार जस्तो देखिन्छ,’ उनले भने ।

दसैँको यो अवसरमा सहरभन्दा गाउँमा निकै रमाइलो सुरु भएको उनले बताए । शाहीका अनुसार अहिले गाउँतिर सिमी, मकै, कोदो, चिनो, कागुनो, मार्से, गहत, मासलगायतका अन्नबाली भित्र्याउने, भर्खरै भित्र्याएका अन्नबालीहरु न्वागीका रुपमा खाने, आफूसँग भएका उत्पादनहरु छिमेकीहरुबीच आदानप्रदान गर्ने र पिङ खेल्दै र दुःख–सुख बाँड्दै रमाइलो गर्ने काम भइरहेको छ ।

यात्राका हिसाबले कर्णाली राजमार्ग भएर दैलेख, कालीकोट, बाजुरा, हुम्ला, जुम्ला, मुगु र सुर्खेत हुँदै भेरी करिडोर भएर सल्यान, रुकुम पश्चिम, जाजरकोट र डोल्पा जाने यात्रुलाई निकै पीडाका साथ घर पुग्नुपर्ने बाध्यता छ । यद्यपि, काम र रोजगारीका सिलसिलामा घर छोडेर देश तथा विदेशका विभिन्न भागबाट बडादसैं मनाउन घर जानेहरुको लर्को उस्तै छ ।

सुर्खेत–दैलेख–कालिकोटदेखि कर्णाली करिडोर भएर बाजुरा हुँदै हुम्लाको यात्रा गरेका अदानचुली गाउँपालिका हुम्लाका मनरुप परियार दुई दिन लगाएर घर पुगे । ‘दुई दिनको यात्रामा गाडी चढ्नुका साथै पैदल हिँड्नु पनि पर्‍यो । आज बिहानमात्र घर पुगिएको छ । सहर छोडेर घर पुग्दा बेग्लै आनन्दको अनुभूति भएको छ । मातृभूमिको स्पर्शले कष्टकर यात्राको थकानमा मलम लगाएको छ,’ आइतबार बिहान घरनजिकै चौतारोमा भेटिएका उनले भने ।

मानिसहरु दसैँ तथा दिपावली मनाउन मातृभूमि फर्केपछि सहरमा मानसिको ओहोरदोहोर र चहलपहल घट्दै गएको छ । सहरको आधा जसो जनसंख्या गाउँ फर्केपछि रमझम पनि कम छ । विमानस्थल र बसपार्कमा गाउँ जानेकै मात्र भीड छ ।

ईश्वरपुर नगरपालिका ३ सर्लाहीदेखि जुम्ला जाँदै गरेकी बिन्दुकमारी सिंहले यात्राको दुखाइलाई भन्दा आफ्नो मातृभूमि भेट्ने रहरले जितेको बताइन् । ‘रोजगारी र अवसरका हिसाबले घर छोडेर देश तथा विदेशका सहर पस्नु हाम्रो रहर होइन, बाध्यता हो,’ उनले भनिन्, ‘सामाजिक अपराध, चिच्याहट, अमानवीयता र सहयोग आदानप्रदानका दृष्टिले सहर भन्दा गाउँ नै सम्पन्न छन् । सहरको धुमिल वातावरणलाई हेर्दा झुपडीमा नै शान्ति मिलेको आभास हुन्छ ।’ सिंहले सहरभन्दा गाउँ यतिबेला रहर, आशा, एकता, सद्भाव, मिलन र दसैँको बहारले रंगीन बन्दै गएको बताइन् ।

(रासस)