काभ्रे । काभ्रे जिल्ला सदरमुकाम धुलिखेल नगरपालिका-७ स्थित सरस्वती बजार नजिक निर्माण थालिएको जिल्ला प्रशासन कार्यालयको आफ्नै भवनको योजना अघि बढेको करिब १५ वर्ष पुग्न लाग्दा बल्ल कार्यान्वयनको चरणमा प्रवेश गरेको छ । ठेक्का विवाद र अदालतको फैसला हुँदै नयाँ निर्माण सम्झौतासम्म पुगेपछि भवन निर्माणको काम अघि बढेको हो ।
भवन निर्माणको प्रक्रिया सुरु भए तापनि जिल्लामा १९ जना प्रमुख जिल्ला अधिकारी फेरिइसकेका छन् । अहिले नेतृत्वमा रहेका प्रजिअ प्रारम्भदेखिका २०औँ नम्बरका हुन् । प्रशासनिक नेतृत्व परिवर्तन भइरह्यो तर प्रशासन कार्यालयको आफ्नै भवन निर्माण भने लामो समय सम्म अधुरो रह्यो ।
धुलिखेलमा जिल्ला प्रशासन कार्यालयको सुविधा सम्पन्न भवन निर्माण गर्ने योजना २०६८ सालमा अघि बढेको थियो । तत्कालीन जिल्ला विकास समितिको स्वामित्वमा रहेको जग्गामा भवन बनाउने तयारी भएपछि जग्गा प्रयोगको विषय विवादमा परेको थियो । चारतले भवन निर्माण गर्ने योजनाअनुसार त्यसबेला करिब ६ करोड ७२ लाख रुपैयाँ लागत अनुमान गरिएको थियो । भवनमा सेवाग्राहीका लागि पार्किङ, अपाङ्गमैत्री संरचना तथा अन्य आवश्यक सुविधा समेट्ने योजना थियो ।
२०६९ वैशाख १२ गते चार करोड ३२ लाख पाँच हजार ११२ रुपैयाँमा जिएम कन्स्ट्रक्सनसँग भवन निर्माणको सम्झौता भयो । तोकिएको समयमा निर्माण सम्पन्न नभएपछि पटकपटक म्याद थप भए पनि निर्माण कार्य बीचमै रोकियो । निर्माणाधीन भवन अलपत्र पर्दा जिल्ला प्रशासन कार्यालय भने अन्य सरकारी तथा भाडाका संरचनाबाट सेवा प्रवाह गर्न बाध्य भयो ।
आफ्नै भवन नहुँदा कार्यालयले लामो समयसम्म भौतिक संरचनाको अभावमा भाडाको घरमा बस्दै आएकामा २०७८ सालमा जिल्ला समन्वय समितिको भवनमा सर्यो । निर्माण कम्पनी र सरकारी निकायबीचको विवाद अदालतसम्म पुग्यो । ठेक्का सम्झौता अन्त्य गर्ने प्रशासनको निर्णयविरुद्ध निर्माण कम्पनीले कानुनी उपचार खोजेपछि अधुरो भवनको बाँकी कामसमेत तत्काल अघि बढ्न सकेन । जी एम कन्स्ट्रक्सनसँग भएको सम्झौताअनुसार भवनको ३८ प्रतिशत काम मात्र सम्पन्न भएको थियो ।
सर्वोच्च अदालतले २०८० मंसिरमा जिल्ला प्रशासन कार्यालयको पक्षमा फैसला गरेपछि पुरानो विवाद टुंगिने आधार तयार भयो । उच्च अदालतको अघिल्लो निर्णय उल्टाउँदै सर्वोच्चले प्रशासनको निर्णयलाई सदर गरेपछि अधुरो भवन निर्माणका लागि नयाँ प्रक्रिया अघि बढाउने बाटो खुलेको थियो ।
सर्वोच्चको फैसलापछि संघीय सहरी विकास तथा भवन निर्माण कार्यालयले जिल्ला प्रशासन कार्यालय, धुलिखेलको प्रशासनिक भवन निर्माणका लागि नयाँ बोलपत्र प्रक्रिया अघि बढाएको थियो । नयाँ प्रक्रियाबाट डी-एस-एस-आर बिल्डर्स जेभी, भक्तपुरसँग गत साउनमा आगामी असार २० गतेभित्र सम्पन्न गर्नेगरी मूल्य अभिवृद्धि कर (भ्याट) सहित चार करोड १५ लाख २७ हजार ९४० रुपैयाँ ५३ पैसामा निर्माण गर्नेगरी सम्झौता भएको छ ।
समयमै भवन निर्माण हुन नसक्दा नागरिकले सेवा प्रवाहमा समस्या भएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी बताउँछन् । प्रजिअ अधिकारीले भने, ‘पुरानो ठेक्का विवाद कानुनी रूपमा टुंगिएको छ, नयाँ निर्माण प्रक्रिया अघि बढेको छ, निर्माण कम्पनीसँग सम्झौता भइसकेको छ र कार्यादेशसमेत जारी भइसकेको छ । तोकिएको समय र लागतभित्र गुणस्तरीय रूपमा निर्माण सम्पन्न हुनेमा हामी ढुक्क छौँ ।’