ललितपुर । ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा शुक्रबार बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आराधनाका लागि बिहानैदेखि भक्तजनहरुको घुँइचो लागेको हो
हिन्दू धर्मअनुसार द्वापर युगमा भाद्र कृष्ण अष्टमीलाई कृष्ण जन्माष्टमी पर्वका रुपमा मानिन्छ । भाद्र कृष्ण अष्टमीकै दिन भगवान श्रीकृष्णको जन्म भएको विश्वासमा कृष्ण जन्माष्टमी पर्व मनाउने प्रचलन छ ।
धर्मग्रन्थमा उल्लेख भएअनुसार नै आज पाटनको कृष्ण मन्दिरमा पूजा आराधना हुँदैछ । हरेक वर्ष जन्माष्टमीमा कृष्ण मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ । विगतका वर्षमा भने कोरोनाका कारण मन्दिरमा भीड कम भएको थियो ।
मन्दिरमा पूजा अर्चनाका लागि दक्षिण र उत्तरतर्फ भक्तजनहरुको लाइन लागेको छ । महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ । मन्दिर परिसरमा भक्तजनको सुविधाको लागि मङ्गल टोलसुधार समितिले स्वास्थ सेवा र पानी को व्यवस्थापन गरेको छ ।
लाइन व्यवस्थापनका लागि स्काउट, ललितपुर महानगर प्रहरीहरु खटिएका छन्, शान्ति सुरक्षा र ट्राफिक व्यवस्थापनमा नेपाल प्रहरीले समन्वय र सहजीकरण गरिरहेका छन् ।