• Menu

माथिल्लो त्रिशूली-१, चिलिमे र रसुवागढीको सुरुङमा विदेशी विज्ञसहितको टोलीद्वारा खोज तथा उद्धार तीव्र

नेपाल प्रफिट

२०८३ भदौ १९, शुक्रबार ११:५९

माथिल्लो त्रिशूली-१, चिलिमे र रसुवागढीको सुरुङमा विदेशी विज्ञसहितको टोलीद्वारा खोज तथा उद्धार तीव्र

रसुवा । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि रसुवाका विभिन्न जलविद्युत आयोजनाका सुरुङ क्षेत्रमा फसेका व्यक्तिको खोज तथा उद्धार कार्य तीव्र पारिएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीसहित चीन, भारत र कोरियाबाट आएका विज्ञ टोलीले माथिल्लो त्रिशूली-१, चिलिमे तथा रसुवागढी जलविद्युत आयोजनाका सुरुङ क्षेत्रमा खोज तथा उद्धार गरिरहेका छन्। सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले उद्धार कार्य तीव्र गतिमा भइरहेको जानकारी दिए ।

बाढीका कारण मृत्यु भएकामध्ये हालसम्म १४० जनाको शव संकलन गरिएको छ। संकलन गरिएका शवमध्ये १३४ वटा व्यवस्थापनका लागि नुवाकोट पठाइएको अधिकारीले जानकारी दिए ।

बाढीपछि रसुवामा दुई हजार ५६४ जना सम्पर्कविहीन भएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार सम्पर्कविहीन हुनेमा नेपाली सेनाको श्रीनाथ गणका २७, नेपाल प्रहरीका २८, सशस्त्र प्रहरी बलका १३, सरकारी कर्मचारी ७९, बैंक तथा वित्तीय संस्थाका २६, रसुवाली नागरिक एक हजार २२६, अन्य जिल्लाका ८८२ तथा पर्यटक २४३ जना रहेका छन् ।

जलविद्युत् आयोजनाका सुरुङ क्षेत्रमा उद्धार कार्य चुनौतीपूर्ण रहेकाले सुरक्षाकर्मी तथा विदेशी विज्ञ टोलीले समन्वयमा खोजी कार्य जारी राखेका छन्।