काठमाडौँ । चीनको स्वशासित क्षेत्र तिब्बतबाट भोटेकोशी र त्रिशूली नदीमा ठूलो बाढी आएपछि रसुवा, नुवाकोट, धादिङ र चितवनका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । बाढीले रसुवाको स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा ठूलो क्षति पुर्याएको प्रारम्भिक विवरण आएपछि सरकारले उद्धार, खोज तथा राहत कार्यलाई तीव्र बनाएको छ ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले भोटेकोशीमा आएको ठूलो बाढी तल्लो तटीय क्षेत्रमा समेत पुग्न सक्ने भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको हो । शाखाका प्रमुख विनोद पराजुलीका अनुसार बाढी मुग्लिनसम्म पुग्न सक्ने भएकाले नुवाकोट, धादिङ र चितवनका नदी तटीय क्षेत्रमा विशेष सावधानी आवश्यक छ ।
उनले पृथ्वी राजमार्गलगायत नदी किनार भएर जाने सडकमा तत्काल आवतजावत बन्द गर्न आवश्यक रहेको बताए । बाढीको जोखिम बढेपछि धादिङ जिल्ला प्रशासन कार्यालयले पनि रसुवा जिल्ला प्रशासन कार्यालयबाट प्राप्त पूर्वसूचनाका आधारमा सम्बन्धित सबैलाई सचेत रहन आग्रह गरेको छ ।
यसैबीच, रसुवाको टिमुरेस्थित सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट (बिओपी) भने सुरक्षित रहेको छ । तर, बाढी आउँदा कार्यक्षेत्रमा ‘ड्युटी’मा खटिएको सशस्त्र प्रहरीको टोली भने सम्पर्कविहीन भएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
उनका अनुसार भोटेकोशीमा अकस्मात् ठूलो बाढी आएपछि टिमुरे क्षेत्रमा ठूलो क्षति भएको अनुमान गरिएको छ । प्रभावित क्षेत्रमा रहेका प्रहरी टोलीसँग सम्पर्क स्थापित गरी अवस्थाबारे जानकारी लिने प्रयास भइरहेको उनले बताए ।
बाढी आएलगत्तै सरकारले जोखिमयुक्त तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ । सम्भावित जोखिमबारे अन्य नागरिकलाई समेत निरन्तर सूचना प्रवाह गर्दै सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बाढीको जोखिम रहेका पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी सडक तथा मुग्लिन–नारायणगढ सडकमा यात्रा नगर्न/नगराउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना, जिल्ला प्रशासन तथा विपद् व्यवस्थापनसँग सम्बन्धित संयन्त्रहरू प्रभावित क्षेत्रमा परिचालन भएका छन् । उद्धार, खोज तथा राहत कार्यलाई तीव्रता दिइएको छ ।
उद्धार तथा राहतका लागि मेडिकल टोलीसहित नेपाली सेनाका दुईवटा हेलिकप्टर प्रभावित क्षेत्रतर्फ पठाइएको छ । निजी क्षेत्रका हेलिकप्टरलाई समेत उद्धार तथा खोजीका लागि तयारी अवस्थामा राखिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
बाढीबाट भएको क्षतिको यकिन विवरण संकलन तथा सम्पर्कविहीन व्यक्तिको खोजीलाई प्राथमिकतामा राखिएको छ । यसका लागि प्रभावित क्षेत्रमा सुरक्षाकर्मीका टोली परिचालन गरी अवस्था बुझ्ने तथा उद्धार कार्य अघि बढाइएको छ ।
यसैबीच, गृह मन्त्रालयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक जारी छ । बाढीबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न प्रधानमन्त्री शाहले आज बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकसमेत बोलाएका छन् ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal