
काठमाडौं । दोलखा र रामेछाप जिल्लामा निर्माणाधीन ९ मेगावाट क्षमताको खिम्ती-घ्वाङ साना जलविद्युत आयोजनामा एनएमबी बैंकले एक अर्ब २४ करोड ऋण लगानी गर्ने भएको छ ।
आयोजना प्रवर्धक वन्डर्स इनर्जी प्रालि र एनएमबी बैंकबीच मंगलबार ऋण लगानी सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा बैंकका तर्फबाट ‘सस्टेनेबल इनर्जी बैंकिङ’ विभाग प्रमुख दिनेश दुलाल र कम्पनीका तर्फबाट प्रबन्ध सञ्चालक प्रकाशचन्द्र दुलालले हस्ताक्षर गरेका थिए ।
कम्पनीका अनुसार दोलखाको जिरी नगरपालिका-१ र रामेछापको गोकुलगङ्गा गाउँपालिका-१ भएर बहने खिम्ती-घ्वाङ खोलामा निर्माण भइरहेको उक्त आयोजना २०८४ साल चैतभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
आयोजनाका लागि आवश्यक सरकारी जग्गा प्राप्ति तथा रूख कटानको अनुमति मन्त्रिपरिषद्बाट प्राप्त भइसकेको छ । आवश्यक जग्गा खरिद, पहुँचमार्ग, गोदाम, आवासगृह निर्माणलगायत पूर्वतयारीको काम सम्पन्न भइसकेको छ ।
यस्तै, सिभिल, हाइड्रो-मेकानिकल र इलेक्ट्रो-मेकानिकल निर्माणको ठेक्का सम्झौतापछि हालसम्म करिब ३० प्रतिशत काम सम्पन्न भएको कम्पनीले जनाएको छ ।
कुल एक अर्ब ८० करोड लागत अनुमान गरिएको आयोजनामा एक अर्ब २४ करोड बैंक ऋणबाट व्यवस्थापन गरिनेछ । बाँकी ५६ करोड स्वपुँजीबाट जुटाइनेछ । त्यसमध्ये ३५ करोड जुटिसकेको र बाँकी रकम पनि चाँडै व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाइएको प्रबन्ध सञ्चालक दुलालले जानकारी दिए ।
कम्पनीका अनुसार गौरीशङ्कर संरक्षण क्षेत्रभित्र निर्माण भइरहेको यो आयोजना सामाजिक तथा वातावरणीय अन्तरराष्ट्रिय मापदण्डअनुसार ‘हाइड्रो सेलेक्ट’ उपकरण प्रयोग गरी निर्माण गरिने नेपालकै पहिलो जलविद्युत आयोजना हुनेछ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal