• Menu

नेपाली विद्यार्थीको विदेश पलायन रोक्न नीतिगत सुझाव दिने गरी सेडाले थाल्यो अनुसन्धान

नेपाल प्रफिट

२०८३ साउन ८, शुक्रबार १६:४२

नेपाली विद्यार्थीको विदेश पलायन रोक्न नीतिगत सुझाव दिने गरी सेडाले थाल्यो अनुसन्धान

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र (सेडा) ले नेपाली विद्यार्थीको बढ्दो विदेश मोहका कारण र त्यसको नीतिगत प्रभावबारे अध्ययन गर्न राष्ट्रियस्तरको अनुसन्धान सुरु गरेको छ ।

सेडाले बिहीबार आयोजना गरेको राष्ट्रिय कार्यशालामार्फत ‘स्टुडेन्ट आउटमाइग्रेसन फ्रम नेपालः ड्राइभर्स एन्ड पोलिसी रेस्पोन्स’ शीर्षकको अनुसन्धान सार्वजनिक गरेको हो । विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा सञ्चालन हुने अध्ययनले विद्यार्थी विदेश जानुको प्रमुख कारण र त्यसलाई प्रभाव पार्ने विभिन्न पक्षको विश्लेषण गर्नेछ ।

अनुसन्धानका क्रममा उच्च माध्यमिक तथा विश्वविद्यालय तहका विद्यार्थी, अभिभावक र अन्य सरोकारवालासँग विस्तृत अध्ययन तथा परामर्श गरिनेछ। प्राप्त निष्कर्षका आधारमा नेपाल सरकारलाई आवश्यक नीतिगत सुझाव प्रदान गरिने सेडाले जनाएको छ ।

सेडाका कार्यकारी निर्देशक प्रा. डा. अर्जुनकुमार बरालले पछिल्ला वर्षमा अध्ययनका लागि नेपाली विद्यार्थी ठूलो संख्यामा विभिन्न मुलुक गइरहेको उल्लेख गर्दै त्यसको आर्थिक, सामाजिक, राजनीतिक, प्रशासनिक तथा प्राविधिक कारणको गहन अध्ययन आवश्यक रहेको बताए ।

यस अनुसन्धानमा सेडाका कार्यकारी निर्देशक प्रा. डा. अर्जुनकुमार बराल, डा. रामकुमार फुयाल, कृषि तथा वन विश्वविद्यालयका उपकुलपति प्रा. डा. ऋषिराम कट्टेल तथा त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक नवीन अधिकारी सहभागी रहेका छन् ।